ट्राफिक नियम उल्लंघन गरेपछि लिनु पर्ने सचेतना कक्षा अब अनलाइनबाटै सञ्चालन हुने भएको छ।
गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी प्रधान कार्यालयमा आज आइतबार विशेष समारोहबीच अनलाइन ट्राफिक सचेतना कक्षाको शुभारम्भ गर्नुभयो ।
गृहमन्त्री लेखकले नेपाल प्रहरीले नयाँ प्रविधिको प्रयोग गरेको कार्य अत्यन्तै सराहनीय भएको चर्चा गर्दै यस प्रविधिको प्रभावकारी रूपमा कार्यन्वयन गर्न र यसबाट हुन सक्ने समस्यामा पनि ध्यान दिन निर्देशन दिनुभयो ।
कार्यक्रममा अब नागरिक एप मार्फत अनलाइन ट्राफिक सचेतना कक्षा लिन सकिने व्यवस्था मिलाइएको नेपाल प्रहरीको कार्य विभाग प्रमुख एआईजी सिद्धिविक्रम शाहले बताए।
ट्राफिक नियम उल्लंघन गर्दा कतिपय विषयमा जरिवाना मात्रै तिराए पनि केहीमा भने अनिवार्य कक्षामा सहभागी हुनु पर्ने व्यवस्था छ। मादक पदार्थ सेवन, लेन अनुशासन उल्लंघन, रातो बत्तीको उल्लंघन, तिब्रगतिमा अनिवार्य कक्षा लिनु पर्ने व्यवस्था छ।
मादक पदार्थ सेवनमा २०६८ सालदेखि, लेन अनुशासन उल्लंघनमा २०७२, रातो बत्तीको उल्लंघनमा २०७७ र तिब्रगतिमा २०७९ देखि कक्षामा सहभागी हुनु पर्ने व्यवस्था गरिएको छ। तर अब यी सबै अनलाइन कक्षा सञ्चालन हुने भएको हो।
अनलाइन कक्षामा सहभागी हुँदा मोबाइलको क्यामेराले आफ्नो फोटो खिचेको हुनु पर्नेछ।
कक्षामा सहभागी हुँदा एक मिनेटभन्दा बढी बाहिर रहन पाइने छैन। तीन पटक सचेत गराउँदै म्यासेज आएमा र अनलाइन कक्षामा सोधिने ६ प्रश्न मध्ये तीन वटाको सही जवाफ दिन नसकेमा डिसकनेक्ट गरिनेछ। १२ घण्टापछि मात्रै पुनः कक्षामा सहभागी हुन पाइने छ।
उक्त कक्षा अर्को दिन पनि पूरा नगरेमा वा सवारी दर्ता किताव र सडक इजाजतको कारबाहीमा भने सम्बन्धित कार्यालयमै उपस्थित भएर कक्षा लिनु पर्ने व्यवस्था गरिएको छ।
यसअघि ट्राफिक नियम उल्लंघन गरे ट्राफिक कार्यालयमा पुगेर सचेतना कक्षामा सहभागी हुनै पर्ने व्यवस्था थियो।