विपतमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई आग्रह- विज्ञप्ति सहित

  • Clock icon
    २०८२ असार ३०, सोमबार १२:००

राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपाले बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद्का घटना हुँदा उद्धार र राहतका काममा जुट्न पार्टीपङ्तीलाई आह्वान गरेको छ।

पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्यालले आज सोमबार विज्ञप्ति जारी गर्दै मनसुन भित्रिने क्रमसँगै देशका विभिन्न भागमा बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद्का घटना बढ्न थालेका र यसबाट ठूलो जनधनको क्षति हुन सक्ने भएकाले सचेत रहन पनि आह्वान गरेको छ।

‘मनसुन भित्रिने क्रमसँगै देशका विभिन्न भागमा बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद्का घटना बढ्ने र यसबाट ठूलो जनधनको क्षति हुन सक्ने विगतका अनुभवले देखाउँछन्,’ अर्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मौसम विज्ञान विभागलेसमेत यस वर्षको मनसुनमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिसकेको सन्दर्भमा हामी सबै थप सचेत र पूर्व तयारीमा जुट्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ।’

उनले विपद्को समयमा मानवीय सेवाको भावनाले नागरिकको सेवा गर्नु सबैको कर्तव्य हुने पनि बताएका छन्।

‘यही मर्मलाई आत्मसात् गर्दै, मनसुनको समयमा आउन सक्ने सम्भावित विपद्का घटनाहरूको न्यूनीकरण, घटनापछिको द्रुत उद्धार, प्रभावकारी राहत वितरण र अन्य मानवीय सहयोगका कार्यहरूमा सक्रियतापूर्वक जुट्न पार्टीका सम्पूर्ण तहका समिति, विभाग, सदस्य तथा शुभेच्छुकहरूमा विशेष आह्वान गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।

रास्वपाले विपद्का घटनाबाट जोगिन आ-आफ्नो क्षेत्रमा रहेका जोखिमयुक्त बस्ती, नदी किनार र पहिरोको जोखिममा रहेका स्थानहरूको पहिचान गरी स्थानीयवासीलाई सचेत गराउन आह्वान गरेको छ।

  • Clock icon
    २०८२ असार ३०, सोमबार १२:००