नेपालको पहिलो निजी टेलिभिजन च्यानल ईमेज टेलिभिजनको व्यवस्थापनमा परिवर्तन भएको छ। २७ वर्षदेखि आरके मानन्धरको नेतृत्वमा सञ्चालित ईमेज ग्रुप अफ कम्पनीज अब साउन १ गतेदेखि नयाँ व्यवस्थापनको हातमा गएको हो।
ईमेज च्यानलमा स्थापना कालदेखि आबद्ध जगदीश खरेललाई नयाँ व्यवस्थापनले समाचार प्रमुखको जिम्मेवारी दिएको छ।
उहाँले समाचार सामग्री प्रविधिसँग जोडेर प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्नुभयो ।
नयाँ व्यवस्थापनको कार्यकारी अध्यक्षमा सञ्चार उद्यमी तथा कामना प्रकाशन गृहका प्रमुख कार्यकारी दिरेकलाल श्रेष्ठ नियुक्त हुनुभएको छ । साथै, सञ्चार उद्यमी चेङ अग्रवालले प्रबन्ध निर्देशकको जिम्मेवारी लिनुभएको छ ।
ईमेज च्यानलसँगै ईमेज एफएम ९७.९ र ईमेजखबर डट कम पनि नयाँ नेतृत्वमा सञ्चालनमा आउने छन्।
लाजिम्पाटस्थित ईमेज च्यानलको कार्यालयमा आज सोमबार आयोजित विशेष कार्यक्रममा संस्थापक अध्यक्ष आरके मानन्धरले नयाँ व्यवस्थापनलाई जिम्मेवारी हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा बोल्दै मानन्धरले युवा सञ्चारकर्मीको काँधमा विश्वासपूर्वक नेतृत्व सुम्पन पाउँदा सन्तोष लागेको बताउनुभयो ।
व्यवस्थापन परिवर्तनसँगै अब ईमेज ग्रुपअन्तर्गत छापा, रेडियो, अनलाइन र टेलिभिजन चारवटै माध्यम एकीकृत रूपमा सञ्चालन हुनेछन्।
यससँगै नेपालको पहिलो संस्थागत प्रकाशन गृह ‘कामना प्रकाशन’ पनि ईमेज ग्रुपसँग औपचारिक रूपमा जोडिएको छ।