नासाले खिच्यो धेरै नजिकबाट सूर्यका गतिविधि

नासाले हालै सूर्यको अहिलेसम्मकै सबैभन्दा नजिकबाट खिचिएको तस्बिर सार्वजनिक गरेको छ। पार्कर सोलर प्रोबले सूर्यको सतहबाट मात्र ३८ लाख माइल (६१ लाख किलोमिटर) दूरीबाट यी तस्बिर खिचेको हो।

नयाँ तस्बिरहरूले सूर्यबाट निस्कने सौर्य हावाको महत्वपूर्ण विशेषता देखाएका छन्, जसले वैज्ञानिकहरूलाई यसको उत्पत्ति र पृथ्वीमा पर्ने प्रभावहरू बुझ्न मद्दत पुर्‍याउनेछ।

सौर्य हावा भन्नाले सूर्यको बाहिरी वायुमण्डल ९कोरोना० बाट लगातार निस्किने आवेशित कणहरूको प्रवाहलाई जनाइन्छ, जसमा मुख्यतः प्रोटोन र इलेक्ट्रोन हुन्छन्। यी कणहरू एक मिलियन माइल प्रतिघण्टा भन्दा बढी गतिमा सौर्यमण्डलभरि फैलिन्छन्।

सूर्यबाट निस्किएका चुम्बकीय क्षेत्र र पदार्थहरूसँग मिसिएर यसले अरोरा (उत्तररदक्षिण ध्रुवीय प्रकाश), ग्रहहरूको वायुमण्डल हटाउने प्रक्रिया, र पृथ्वीमा विद्युत सञ्जालमा अवरोध ल्याउने विद्युत धारा उत्पादन गर्न सक्छ। यस्तो अन्तरिक्ष मौसम बुझ्नु र भविष्यवाणी गर्नु अन्तरिक्ष यात्री र यानहरूको सुरक्षा तथा पृथ्वीमा प्रभाव कम गर्न अत्यावश्यक मानिन्छ।

लाइभसाइन्सका अनुसार सन् २०१८ मा प्रक्षेपण गरिएको पार्कर सोलर प्रोब सूर्यको कोरोना भित्र प्रवेश गर्ने पहिलो यान हो। यसमा डब्लूआईएसपीआर (वाइड फिल्ड इमेजर फर सोलर प्रोब) र एसडब्लूईएपी (सोलर विण्ड इलेक्ट्रोन्स अल्फाज एण्ड प्रोटोन्स) जस्ता वैज्ञानिक उपकरणहरू छन्।

तीव्र ताप र विकिरणका बीच उडिरहेको यो मानव रहित यानले सूर्य र यसको वरिपरिका क्षेत्रहरूको विस्तृत डाटा पठाइरहेको छ।

गत वर्ष डिसेम्बर २४ मा गरिएको ऐतिहासिक फ्लाइबाईमा पार्कर सोलर प्रोबले सूर्यको कोरोना छोड्नेबित्तिकै सौर्य हावा कसरी व्यवहार गर्छ भन्ने देखाउँदै तस्बिरहरू खिचेको थियो।

त्यहाँ अनियमित प्लाज्माका गोलाहरु र चुम्बकीय क्षेत्रहरू (कोरोनल मास इजेक्शन सीएमई) एकअर्कासँग ठोक्किएको पनि देखिएको छ।