मन्त्रीहरुको धमाधम घुस काण्ड बाहिरिँदै फेरि सहकारी मन्त्रीको राजीनामा माग

बलराम अधिकारी balaram

७८ लाख घुस डिलमा तानिएपछि संघीय मामिलामन्त्रीबाट राजीनामा दिएका राजकुमार गुप्ताले बिचौलियासँगको अडियोमा भनेका थिए, ‘बलरामले पैसा खाइसक्यो, उसले काम गर्दैन’ । गुप्ताले यसरी अचानक बलराम अधिकारीको नाम पोलेपछि धेरैले उनको आलोचना गरे । अधिकारीले पनि त्यसबारे टिप्पणी गर्दै भने– जुन औंलामा बिख हुन्छ, त्यही औंला झर्छ । नभन्दै गुप्ताले मन्त्री पदबाट राजीनामा दिए ।

गुप्ताले राजीनामा दिएको भोलिपल्टै भूमि व्यवस्थामन्त्री अधिकारीले पनि ३२ लाख घुस लिएको अडियो सार्वजनिक भएको छ । अडियोअनुसार उनले पोखरा लिचीघारीको १३५ रोपनी विवादित जग्गा स्वार्थ समूहको नाममा दर्ता गरिदिने भन्दै घुस लिएका हुन् । यही जग्गा काण्डमा ५३ लाख रुपैयाँ घुस खाएको आरोप लागेपछि गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिइसकेका छन् । उनले जिल्ला भूमि आयोगको अध्यक्ष नियुक्त गरिदिन भन्दै २५ लाख घुस डिल गरिरहेको अडियो सार्वजनिक भएको थियो ।

पछिल्लो सार्वजनिक अडियोमा अधिकारीले पैसा खाइसकेको दाबी बिचौलियाले गरेका छन् । अडियोमा तत्कालीन भूमिसचिव अर्जुन पोखरेल, मन्त्रीका छोरा मनोज र निजी सचिव अनिल मरासिनी पनि तानिएका छन् । महेन्द्र गुफानजिकै रहेको जग्गा हत्याउन व्यापारिक समूह लागिरहेको थियो, यही विवादमा केही वर्षयता बिचौलिया छिरेका थिए । हाल भोगचलन गर्दै आएकाहरूको जग्गा स्वार्थ समूहको डिजाइनबमोजिम अर्कैलाई दर्ता गरिदिने नाममा मन्त्री अधिकारीले घुस खाएको आरोप लागेको हो ।

सार्वजनिक भएको अडियोमा मन्त्री अधिकारीले ३२ लाख लिएको दाबी बिचौलियाले गरेका छन् । अडियोमा मन्त्री अधिकारीले ३२ र भूमिसचिव (तत्कालीन सचिव अर्जुन पोखरेल) ले पाँच लाख रुपैयाँ बुझेको दाबी गरिएको छ ।