भ्रष्टाचार रोक्न राप्रपाले अख्तियार गुहार्ने

सरकारका मन्त्रीहरु नै आर्थिक अनियमिततामा संलग्न रहेको अडियो सार्वजनिक भैरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउने भएको छ ।

अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको नेतृत्वमा भोलि शुक्रबार दिउँसो १ बजे अख्तियारको केन्द्रीय कार्यालय टंगालमा प्रदर्शनसहित दबाबमूलक पत्र बुझाउन लागेको हो । भ्रष्टाचारका सबै काण्डहरुको अध्ययन, अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन आयोगको ध्यानाकर्षण गराउने उद्धेश्यले यो कार्यक्रम तय भएको राप्रपाले जनाएको छ ।

गत असार १९ गते बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट भ्रष्टाचार विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय भएको थियो । सोही अनुसार अख्तियारको प्रदेश कार्यालयहरू र सम्पत्ति शुद्धीकरण विभाग लगायतका निकायमा पनि चरणबद्ध दबाबमूलक कार्यक्रम अघि बढाइने पार्टीले जनाएको छ ।

‘सरकारका मन्त्रीहरु र उच्च पदस्थ कर्मचारीहरु एकपछि अर्को भ्रष्टाचारका काण्डमा संलग्न भइरहेको घिनलाग्दो समाचारहरु दिनहॅुजसो आइरहेको छु’, प्रवक्ता मोहनकुमार श्रेष्ठले भन्नुभयो -‘यसै परिप्रेक्ष्यमा राप्रपाले साउन २ गते शुक्रबार दिउॅसो १ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारका सबै काण्डहरुको अध्ययन,अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन आयोगको केन्द्रीय कार्यालय टंगालमा भ्रष्टाचार विरुद्धको प्रदर्शन सहित ज्ञापनपत्र पेश गर्ने कार्यक्रम तय भएको छ ।’