निगेटिभ गफमा हैन, कामको मैदानमा देखिने युवा: अक्षय गोल्यानको कथा

“नेपालमा केही हुँदैन”, “यो देशमै सम्भावना छैन”, “काम गर्न गाह्रो छ”—यी भनाइहरू आजका धेरै युवाको मुखबाट झर्छन्। पढ्न, काम गर्न वा सफल हुन विदेशी भूमिलाई पहिलो विकल्प ठान्ने पुस्ताबीच पनि केही पात्र यस्ता छन् जसले नेपालमै सपना देखे, यहीँ पसिना बगाए र यतै भविष्य खोजे। तिनैमध्ये एक उदाहरणीय पात्र हुन्—अक्षय गोल्यान

काठमाडौंमै हुर्किए, संसारको शिक्षा सँगाले

औद्योगिक पृष्ठभूमिको परिवारमा जन्मिएका अक्षय गोल्यानको प्रारम्भिक यात्रा काठमाडौंको लिङ्कन स्कुलबाट सुरु भयो। कक्षा १२ पछिको यात्रा भने अन्तर्राष्ट्रिय भयो। सन् २०११ मा यूएईस्थित अमेरिकन युनिभर्सिटीबाट BBA सकेर उनी नेपाल फर्किए। छोटो समय रियल इस्टेट मार्केटिङमा हात हालेपछि, थप अध्ययनको लागि स्पेनको ISADE University बाट MBA गरे।

तर, त्यहाँ पुग्दा पनि विदेशमै करिअर बनाउने उनको सोच स्थायी बन्न सकेन। बुबा पवन गोल्यानको एक वाक्य—”अब तिमी नेपाल फर्क”—ले उनीभित्रको जिम्मेवारीबोध र जरा सम्झाउने काम गर्‍यो।

बिजनेस सुरु गर्दा म्यानुअल सिस्टम, अनुभव शून्य

सन् २०१7 मा नेपाल फर्किएपछि उनले समूहको प्रमुख उद्योग रिलायन्स स्पिनिङ मिल्स बाट औपचारिक रूपमा नेतृत्व यात्रा सुरु गरे। अनुभव नभएको, उमेर थोरै—तर हिम्मत, लगन र नवीन सोचको साथ उनले आफूभन्दा दोब्बर उमेरका कर्मचारीसँग नेतृत्वको चुनौती स्वीकार गरे।

“सीईओ ६० वर्षको, म २८। सोच, विधि र प्रविधिमा ग्याप त हुन्छ नै”, उनी सम्झन्छन्। तर, यहीँबाट उनले संस्थामा परिवर्तनको सुरूवात गरे—प्रणाली सुधार, कर्मचारीप्रति सम्मान, र मापनयोग्य नतिजा। पहिलो वर्षमै लागत बचत गरेर २० करोड रुपैयाँको सेभिङ् गर्नु कुनै सानो उपलब्धि थिएन।

बुबाको विश्वास: निर्णयको सम्पूर्ण जिम्मा

नेपाली व्यवसायिक परिवारमा सन्तानलाई ‘सहायक’ भूमिकामा राख्ने चलन बलियो छ। तर, पवन गोल्यानले त्यो ढर्रालाई तोडे। सन् २०१९ मा अक्षयलाई रिलायन्स स्पिनिङ मिल्सको प्रबन्ध निर्देशक (MD) बनाइयो—पूर्ण निर्णय अधिकारसहित।

“राम्रो भयो भनेपनि तिम्रै निर्णय, नराम्रो भयो भनेपनि तिमी नै उत्तरदायी”, भन्ने बुबाको यो भनाइले अक्षयलाई जिम्मेवारीको गहिरो अर्थ सिकायो। आज, उनी भन्छन्—”आजको म त्यही निर्णयको उपज हुँ।”

सन्तानले व्यवसायै गर्नु पर्छ भन्ने छैन

उनी व्यवसायी हुन्, तर उनी यस कुरामा ठाडै असहमत छन् कि “व्यवसायीको छोरो व्यवसायी नै हुनुपर्छ।” उनी भन्छन्—”प्रेसर होइन, प्यासनले काम गर्नुपर्छ। मेस्सीका छोरालाई मेस्सी बन्नैपर्छ भन्ने छैन।”

उनको यही दर्शनले गोल्यान परिवारमा पुस्तान्तरणको अभ्यासलाई मजबुत बनाइरहेको छ—स्वतन्त्रता, रुचि र क्षमताको आधारमा जिम्मेवारी।

६ वर्षमा ३ सय प्रतिशत पोर्टफोलियो वृद्ध‍ि

गोल्यान समूहमा अहिले कृषि, ऊर्जा, बैंक, हस्पिटालिटी, रियल इस्टेट लगायत २५ भन्दा बढी उद्यम छन्। ६ हजारभन्दा बढी रोजगारी सृजना गर्नु, ५० देशमा निर्यात गर्नु र निर्यातअनुदानजस्ता सरकारी समस्या बीच पनि उभिइरहनु—यी सबै उपलब्धिको पछाडि अक्षयको नीतिगत स्पष्टता र व्यावसायिक रणनीति रहेक‍ो देखिन्छ।

उनी नेतृत्वमा आएपछि समूहको पोर्टफोलियो ३ सय प्रतिशतले बढेको तथ्य आफैँमा प्रेरणादायी छ।

‘सकारात्मक सोच, योजनाबद्ध काम र निरन्तरता’

नेपाललाई उनले ‘गड गिफ्टेड मुलुक’ मान्छन्। विशेषगरी ऊर्जा र पर्यटन उनको फोकसमा छन्। लुम्बिनी, पोखरा, जनकपुरमा पाँचतारे होटलहरू निर्माणाधीन छन्। त्यससँगै कृषि, हाइड्रो र सौर्य उर्जामा लगानी बढ्दैछ।

उनी भन्छन्—”नेपालमा सम्भावना छ। नियम समान छन्, प्रणाली अलि असहज हो। तर हामीले सम्भावना देख्नुपर्छ, गिभ अप गर्ने होइन।”

‘युवा नै देशको भविष्य हुन्’

अक्षयको विचारमा देशभित्र युवाको ‘नैराश्यता’ र ‘फ्रस्टेसन’ कम गर्न रोजगारी सिर्जना आवश्यक छ। विभाजनकारी सोच, जातीयता, क्षेत्रीयता जस्ता सोंचले देशलाई कमजोर बनाउँछ भन्ने उनको भनाइ छ। “हामी नै यो देशको भविष्य हौं,” भन्ने उनको सन्देश छ, सीधा, गहिरो र प्रेरणादायी।