कोदोको मुलुक नेपाल, तर अर्बौंको आयात! – खेती घट्यो, खपत विदेशी बजारमा निर्भर

“कोदो हाम्रो परिकार हो”, भनेर गीतमा गाइए पनि—नेपाल अब आफ्नै परिकारको लागि पनि विदेशी बजारमा हेर्न बाध्य भएको तथ्य सार्वजनिक भएको छ। कृषिमा आत्मनिर्भरता भन्ने नारा भइरहँदा नेपालले हरेक वर्ष झण्डै ७५ करोड रुपैयाँको कोदो विदेशबाट आयात गरिरहेको तथ्यले राष्ट्रिय खाद्य सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।

११ महिनामै १४ लाख किलोभन्दा बढी कोदो आयात

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा मात्र नेपालले १४.३५ मिलियन किलोग्राम (१ करोड ४३ लाख ५० हजार किलो) कोदो आयात गरेको छ। यसको कुल मूल्य ७१८.७८ मिलियन रुपैयाँ (७१ करोड ८७ लाख ८० हजार) रहेको छ।

यसअघिको आर्थिक वर्ष २०८०/८१ मा यो संख्यामा झनै वृद्धि देखिएको थियो। उक्त वर्ष १५.२९ मिलियन किलोग्राम (१ करोड ५२ लाख ९० हजार किलो) कोदो आयात गरिएको थियो, जसको मूल्य ७५४.४२ मिलियन रुपैयाँ (७५ करोड ४४ लाख २० हजार) थियो।

कोदो आयात प्रमुखतः भारत र चीनबाट

नेपालले आयात गर्ने कोदो मुख्यतः छिमेकी देश भारत र चीन बाट आउँछ। सस्तो दर, निरन्तर आपूर्ति र उत्पादनमा स्थायीत्वका कारण नेपालले घरेलु उत्पादन नपुगेपछि यिनै देशहरूबाट आपूर्ति गर्दै आएको हो।

आफ्नै उत्पादन घट्दै, नीति कमजोर

एक समय पहाडी भूभागको परम्परागत बाली मानिएको कोदो अब उत्पादनको सूचीबाट ओझेल पर्दै गएको छ। कृषकले नगदे बालीतर्फ आकर्षण देखाएका छन् भने, सरकारी तहबाट कोदो जस्ता खाद्य सुरक्षासँग जोडिएका बालीप्रति आवश्यक प्राथमिकता देखिएको छैन।

विशेषगरी सिंचाइको अभाव, बिउ प्रविधिमा लगानीको कमी र मूल्यमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था का कारण कोदो उत्पादन पछाडि परेको हो।

खपत बढ्दै, उत्पादन घट्दै – समाधान के?

नेपालमा कोदोको माग पछिल्लो समय स्वास्थ्य सचेतनाका कारण पनि बढेको देखिन्छ। कोदोबाट बनेका ढिँडो, पिठो र रक्सी विशेषगरी पहाडी तथा शहरी क्षेत्रका रेस्टुरेन्टहरूमा समेत लोकप्रिय भइरहेका छन्। तर, मागअनुसार उत्पादन बढाउन नसक्दा यो विदेशी निर्भरता बढ्न थालेको हो।

नीतिगत दृष्टिकोणको आवश्यकता

वर्तमान अवस्थालाई हेर्दा कोदोको आयात अझै बढ्ने संकेत देखिन्छ। यथाशीघ्र स्थानीय उत्पादन प्रवर्द्धन, कृषकलाई सहुलियत, बिउ र प्रविधिमा लगानी, र खपत स्थानअनुसार आपूर्ति श्रृंखला विकास नगरेमा नेपालको परम्परागत खाद्य पदार्थ पनि विदेशी बजारको भरमा रहनुपर्ने स्थिति आउन सक्छ।