काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ (२०२५/२६) का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटाअन्तर्गत संस्थागत विद्यालयमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूको प्रवेश परीक्षाका लागि १६,१३७ जना विद्यार्थीहरूलाई छनोट गरेको छ। यस प्रवेश परीक्षा यही साउन ४ गते (जुलाई १९ तारिख) सञ्चालन गरिनेछ।
महानगरको शिक्षा विभागका अनुसार यस वर्ष देशभरिका ७७ वटै जिल्लाबाट जम्मा १७,२२९ वटा आवेदन प्राप्त भएका थिए। तीमध्ये १,०९२ वटा आवेदन विभिन्न कारणले अस्वीकृत गरिएको छ। अस्वीकृत आवेदनहरूमा मुख्य रूपमा आवश्यक कागजातको अभाव देखिएको छ।
शिक्षा विभागका अनुसार नागरिकता वा जन्म प्रमाणपत्र (पहिचान पुष्टि), सार्वजनिक विद्यालयमा अध्ययन गरेको प्रमाण, निजी विद्यालयमा छात्रवृत्तिमा पढेको प्रमाण, तथा काठमाडौं महानगरपालिका भित्र स्थायी बसोबास प्रमाणित गर्ने कागजात नपुगेका कारण फारम अस्वीकृत गरिएका हुन्।
छनोटमा परेका विद्यार्थीहरू संकायअनुसार यसरी वर्गीकृत भएका छन्: विज्ञान संकायमा ११,५९० जना, व्यवस्थापनमा ४,१६४ जना, मानविकीमा ३२ जना, शिक्षामा ९५ जना र कानुन संकायमा २५६ जना विद्यार्थी छनोटमा परेका छन्।
छनोटमा परेका सबै विद्यार्थीलाई महानगरले इमेल र फोनमार्फत जानकारी दिइसकेको छ। प्रवेश परीक्षा पास गरेपछि यी विद्यार्थीहरूले काठमाडौं महानगरभित्रका निजी विद्यालयहरूमा पूर्ण छात्रवृत्तिमा कक्षा ११ मा भर्ना हुने अवसर पाउनेछन्।
यस कार्यक्रमको उद्देश्य सार्वजनिक विद्यालयमा अध्ययन गरेका मेधावी र आर्थिक रूपमा कमजोर पृष्ठभूमिका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्राप्तिको अवसर प्रदान गर्नु हो। महानगरले हरेक वर्ष सोही उद्देश्यअनुसार छात्रवृत्ति प्रवेश परीक्षा सञ्चालन गर्दै आएको छ।