प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्ला राजनीतिक गतिविधिप्रति असन्तुष्टि जनाएका छन्। पत्रकार विजयकुमार पाण्डेसँगको एक भिडियो अन्तर्वार्तामा ओलीले भण्डारीले पार्टीमा फर्कने निर्णय कुनै सल्लाह र समन्वयबिना गरेको दाबी गरेका हुन्।
ओलीले भने, “उहाँले न त मलाई सोध्नुभयो, न सल्लाह गर्नुभयो। पार्टीसँग पनि आधिकारिक रूपमा केही भन्नुभएको जानकारी छैन। मौखिक वा लिखित रूपमा उहाँले सम्पर्क गर्नुभएको छैन।” उनले थपे, “राजनीतिमा फर्किने निर्णय सिंगो पार्टीलाई जानकारी नदिई एकतर्फी रूपमा गर्नु गम्भीर विषय हो।”
पूर्वराष्ट्रपतिलाई एमालेमा स्वागत गर्ने विषयमा ओलीले स्पष्ट पारे कि पार्टीले संस्थागत निर्णयबिना कसैलाई पुनः प्रवेश दिन सक्दैन। “उहाँ हाम्रै पार्टीकी उपाध्यक्ष हुनुहुन्थ्यो र हामीले उहाँलाई राष्ट्रपति बनाएका थियौँ। तर अहिलेको अवस्थामा यो विषय गम्भीर छ, पार्टीभित्र छलफल आवश्यक छ,” ओलीले भने।
ओलीले भण्डारीको विगत करिब १० वर्षदेखि पार्टीमा सक्रियता नरहेको र निरन्तर नेतृत्वमा नदेखिएको अवस्थालाई उल्लेख गर्दै तत्कालीन नेतृत्व हस्तान्तरणका लागि अनुकूल अवस्था नभएको बताए। “उहाँले नेतृत्व लिने हैसियत राख्न सक्नुहुन्न, किनकि निरन्तर राजनीति र पार्टी संगठनभित्र संलग्नता छैन,” उनले तर्क गरे।
पार्टी नेतृत्वको विषयमा ओलीले व्यक्तिगत आसक्तिबाट मुक्त रहेको धारणा राखे। उनले भने, “सधैँभरि म पदमा बस्नुपर्ने कुरा छैन। नेतृत्व हस्तान्तरण समय, परिस्थिति र कार्यक्षमताको आधारमा हुनुपर्छ। म काम गर्न नसक्ने भए छोड्नुपर्छ।” उनले स्पष्ट पारे, “पहिलो मर्यादा छोडेपछि दोस्रो सिटमा बसेर हैन, घर गएर बस्नुपर्छ।”
पूर्वराष्ट्रपति भण्डारीले असार १४ गते मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा एमालेको सदस्यता नवीकरण गर्दै पार्टी राजनीतिमा पुनः सक्रिय भएको घोषणा गरेकी थिइन्। सो कार्यक्रममा अध्यक्ष ओली स्वयं पनि सहभागी थिए। तर ओलीको ताजा अभिव्यक्तिले त्यो घोषणालाई औपचारिक मान्यता दिइएको छैन भन्ने संकेत देखिएको छ।
ओलीले अन्त्यमा भने, “भण्डारीजीको चाहना बुझ्ने प्रयास हुनेछ। पार्टीभित्र उहाँका अभिव्यक्तिबारे छलफल गरेर चाँडै निर्णय लिइनेछ।” ओलीको अभिव्यक्ति सन्देश दिन्छ— एमालेमा फर्कनु केवल व्यक्तिगत निर्णय होइन, पार्टी संस्थागत प्रक्रिया र आन्तरिक छलफलमार्फत हुने विषय हो।