नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र विधि निर्माणको अन्योल अन्त्य भएको दाबी गर्नुभएको छ ।
आज शुक्रबार बस्न लागेको पोलिटब्युरो बैठक अगाडि सामाजिक सञ्जालमा लेख्दै उहाँले आगामी विधान महाधिवेशनका लागि आवश्यक राजनीतिक तथा सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावहरू तयार भइसकेको जनाउनभएको छ ।
‘विधि निर्माणको अन्योल अन्त्य भएको छ’ पोखरेलले भन्नुभयो, ‘मिशन २०८४ का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो, त्यो सुनिश्चित भएको छ।’
यसअघि हिजो बिहीबार बसेको एमाले सचिवालय बैठकले केही महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको थियो। बैठकले ७० बर्से उमेरहद हटाउने, कार्यकाल सीमाको प्रावधान हटाउने, पदाधिकारीको संख्या १५ कायम गर्ने र केन्द्रीय कमिटीलाई २५१ सदस्यीय बनाउने प्रस्तावमा सहमति दिएको हो।