प्रभु हेलिकप्टरको दशौँ वर्षमा प्रवेश: सुरक्षित उडानको एक दशक र आइपीओको तयारी

  • Clock icon
    २०८२ श्रावण २, शुक्रबार

 

नेपालको हवाई यातायात क्षेत्रमा प्रभु हेलिकप्टर लिमिटेडले आफ्नो स्थापनाको दशौँ वर्ष पूरा गरी ११ औँ वर्षमा प्रवेश गरेको छ। यस अवसरमा कम्पनीका अध्यक्ष सुभाष अमात्यले विगत एक दशकमा प्राप्त साथ र सहयोगप्रति सबैमा आभार व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्।

दश वर्षअघि तत्कालीन मुक्तिनाथ हेलिकप्टरको नामबाट सञ्चालित कम्पनीलाई प्रभु ग्रुपले २०७२ सालमा सम्पूर्ण शेयर खरिद गरी प्रभु हेलिकप्टरको नामबाट सञ्चालनमा ल्याएको थियो। कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको विविध र चुनौतीपूर्ण भौगोलिक अवस्थामा सुरक्षित, भरपर्दो र प्रभावकारी हवाई यातायात सेवामा प्रतिबद्ध भई निरन्तर लागेका छौँ, आगामी दिनमा पनि यात्रु तथा सेवाग्राहीबाट यही खालको माया र विश्वास पाउने अपेक्षा गर्दछौँ।’

प्रभु हेलिकप्टरले विशेष गरी मुलुकको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। यसका साथै, आकस्मिक उद्धार, सामग्री ढुवानीलगायतका क्षेत्रमा पनि यसले सक्रिय भूमिका निर्वाह गरिरहेको छ। सुरुवाती चरणमा एउटा रोबिन्सन हेलिकप्टरबाट व्यावसायिक यात्रा सुरु गरेको प्रभुले हाल दुईवटा एयरबस एच १२५ मार्फत उडान सेवा प्रवाह गरिरहेको छ।

कम्पनीले हाल पोखरा, काठमाडौँ र लाङटाङमा हेलिकप्टर टुर तथा साइटसिङ सेवा उपलब्ध गराइरहेको छ। यसका अतिरिक्त, मुक्तिनाथ, गोसाइकुण्ड, कालीञ्चोक भगवती र लुम्बिनीमा पनि हेलिकप्टर टुर उपलब्ध गराउँदै आएको छ। सगरमाथा, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको आधार शिविरमा पनि हवाई उडान गर्नुका साथै उद्धारलगायतका सेवाहरू कम्पनीले प्रदान गर्दै आएको छ।

सुरुमा कम्पनी ऐन, २०६३ अन्तर्गत एक निजी लिमिटेड कम्पनीको रूपमा समावेश गरिएको प्रभु हेलिकोप्टर प्रालि २०७९ असार ३० गतेबाट पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको थियो। कम्पनीसँग पोखरामा आफ्नै ह्याङ्गर सुविधा पनि उपलब्ध छ, जसले सेवा प्रवाहमा थप सहजता प्रदान गरेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा जारी गरिएको एयर अपरेटर प्रमाणपत्र (एओसी) नम्बर ०८१/२१३-१ अन्तर्गत सञ्चालनमा रहेको प्रभु हेलिकप्टर लिमिटेडले अब सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने तयारी समेत गरेको छ। कम्पनीका अनुसार आइपीओ जारी गर्नका लागि मुक्तिनाथ क्यापिटललाई आइपीओ बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ।

  • Clock icon
    २०८२ श्रावण २, शुक्रबार