सैनिकको कुटाइबाट नेचर गाइड घाइते भएपछि आक्रोशित स्थानीय बासिन्दाले सौराहास्थित सेनाको व्यारेकअगाडि प्रदर्शन गरेका छन्।
हिजो बिहीबार चितवन राष्ट्रिय निकुञ्जभित्र गुलेली र विषालु च्याउसहित समातिएका एक जना नेचर गाइड सैनिकको कुटपिटबाट घाइते भएका थिए।
कानुनअनुसार कारबाही गर्नुपर्नेमा कुटपिट गरेर गम्भीर घाइते बनाएको भन्दै स्थानीय बासिन्दाले निकुञ्ज सुरक्षार्थ तैनाथ नयाँ गोरख गणअन्तर्गत सौराहास्थित गुल्म अगाडि प्रदर्शन गरेका हुन्।
उनीहरुले निउरो टिप्न गएको व्यक्तिमाथि कुटपिट गरिएको आरोप लगाएका छन्।
सैनिक स्रोत भने सौराहानजिकै खोरसोर क्षेत्रबाट नेचर गाइड गोविन्द राउत शंकास्पद अवस्थामा पक्राउ परेको दाबी गर्छ।
रत्ननगर नगरपालिका ७ का राउत दुधौरा पोष्टबाट गस्तीमा रहेका सैनिकहरूको कुटपिटबाट उनी घाइते भएका थिए।
राउतको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
घाइते राउत र उनकी दिदी कौशिला राउतले सैनिकको कुटपिटबाट घाइते भएकाले न्याय, क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गरेर हिजै बिहीबार नै इलाका प्रहरी कार्यलयमा जाहेरी दिएका थिए।
घटनाको विषयमा दुई पक्षसँग बुझ्ने र समन्वय गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।