नेपाल–चीन संस्कृति शिखर सम्मेलन–२०२५ आज शुरु भएको छ ।
काठमाडौँको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको सगरमाथा हलमा आयोजित कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देशको हैसियत र सामथ्र्यअनुसार विकासका काम अघि बढिरहेको दाबी गर्नुभएको छ । नेपाल–चीन संस्कृति शिखर सम्मेलन–२०२५ को शुभारम्भ गर्दै उहाँले आफ्नै गतिमा देश विकास भैरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीका अनुसार आफ्नो गच्छेअनुसार मुलुकमा सबैकुरा चलिरहेको छ ।
राजधानीमा आयोजित कार्यक्रममा उहाँले मित्रताका लागि गच्छे नचाहिने भन्दै नेपालले आफ्नो सामथ्र्यअनुसार मित्रराष्ट्रहरूसँग पारस्परिक सम्बन्ध अघि बढाइरहेको उल्लेख गर्नुभयो । नेपाल र चीन सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जाने उहाँको विश्वास छ ।
‘नेपाल आफ्नो गच्छेअनुसार विकासका काममा अघि बढिरहेको छ । आफ्नो गच्छेअनुसार गति अघि बढाइरहेको छ’, प्रम ओली भन्नुहुन्छ, ‘मित्रताका लागि गच्छे चाहिँदैन । यसै गर्न सकिन्छ । गच्छेअनुसार पारस्परिक सम्बन्धलाई पनि अघि बढाइरहेको छ । हाम्रो यो सम्बन्ध आगामी दिनमा अझ व्यापक हुँदै जानेछ ।’
प्रधानमन्त्रीले चीनसँगको मैत्री सम्बन्धलाई अगाडि बढाउने सन्दर्भमा नेपालले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धतासमेत जनाउनुभएको छ । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङलगायत सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य अञ्जान शाक्य, काठमाडौँ महानगरका उपमेयर सुनिता डंगोलको पनि सहभागिता थियो ।
दुई देशको कला, संस्कृति र भेषभूसालाई विश्वसामु चिनाउने उद्देश्यले नेपाल–चीन संस्कृति शिखर सम्मेलन– आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक पनि सामेल थिए ।