नेपाल र चीनबीच द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्दै आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच अर्थ मन्त्रालयमा व्यापक भेटवार्ता सम्पन्न भएको छ। भेटमा विकास साझेदारी, चिनियाँ सहयोगमा सञ्चालित तथा प्रस्तावित परियोजनाहरूको कार्यान्वयन लगायत विभिन्न महत्त्वपूर्ण विषयमा गहन छलफल भएको हो।
भेटपछिको औपचारिक कार्यक्रममार्फत चार वटा महत्त्वपूर्ण परियोजनामा समझदारीपत्र (MoU) हस्ताक्षर गरिएको छ। नेपालको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीनको तर्फबाट सिड्का अध्यक्ष सियाओदोङ्गले हस्ताक्षर गरेका हुन्।
प्रथम, भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १८३४ वर्गमिटरमा फैलिएको बोनम्यारो ट्रान्सप्लान्ट केन्द्र निर्माण तथा अत्याधुनिक मेसिनरी जडानसम्बन्धी सम्झौता गरिएको छ। यसबाट नेपालको क्यान्सर उपचार सेवामा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।
दोस्रो, निजामती कर्मचारी अस्पतालको विस्तारका लागि सम्भाव्यता अध्ययन गर्ने सम्बन्धमा समझदारी भएको छ, जसबाट कर्मचारी स्वास्थ्य सेवा अझ प्रभावकारी र आधुनिक बनाइनेछ।
तेस्रो, दुई पक्षबीच मानव संसाधन विकाससम्बन्धी सम्झौता पनि भएको छ, जसअनुसार १२७० जना सरकारी कर्मचारीहरू चीनका विभिन्न प्रतिष्ठानमा आयोजित सेमिनारहरूमा सहभागी हुनेछन्। यसबाट कर्मचारीको सीप, दक्षता र कार्यसम्पादनमा दीर्घकालीन सुधार हुने विश्वास लिइएको छ।
चौथो, रसुवागढी–केरुङ सिमापार ट्रान्समिसन लाइनको सम्भाव्यता अध्ययन सम्बन्धी माइन्युटमा नेपाल विद्युत प्राधिकरणका महाप्रबन्धक हितेन्द्रदेव शाक्य र सिड्का अध्यक्षबीच हस्ताक्षर भएको छ। यो अध्ययनबाट नेपाल–चीन विद्युत व्यापारमा नयाँ सम्भावनाको ढोका खुल्ने देखिएको छ।
कार्यक्रममा अर्थमन्त्री पौडेलले नेपाल–चीन सम्बन्धलाई ‘बहुआयामिक र दीर्घकालीन साझेदारी’को रूपमा व्याख्या गर्दै चिनियाँ प्रतिनिधिमण्डलको भ्रमणले द्विपक्षीय सम्बन्ध अझ उचाईमा पुग्ने बताए। उनले सम्झौताबाट स्वास्थ्य, ऊर्जा, मानव संसाधन तथा सिमावर्ती पूर्वाधार क्षेत्रमा गुणात्मक सुधार हुनेमा विश्वास व्यक्त गरे।
साथै, हालै बाढीले क्षतिग्रस्त बनाएका रसुवाका भौतिक संरचनाको पुनर्निर्माणमा चीनले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। सिड्का अध्यक्ष सियाओदोङ्गले नेपाल सरकारले उद्धार, राहत र बेपत्ताको खोजीमा देखाएको सक्रियतालाई धन्यवाद दिँदै पुनर्निर्माण कार्यमा सघाउने बताए। अर्थमन्त्री पौडेलले रसुवा नाकालाई केवल व्यापारिक होइन, राजस्वको दृष्टिले पनि महत्त्वपूर्ण नाका भएको उल्लेख गर्दै संरचना पुनर्निर्माणको कार्य शीघ्र अघि बढाइने बताए।