नेपालको वैदेशिक व्यापार १९.२४ प्रतिशतले वृद्धि, निर्यात ऐतिहासिक उच्चतामा

आर्थिक वर्ष २०८१/८२ आयात र निर्यातका दृष्टिकोणले सुधारोन्मुख रह्यो । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष आयात र निर्यात दुवै उल्लेख्य बढेको देखिएको हो ।

विभागका अनुसार एक वर्षको अवधिमा आयात साढे १३ प्रतिशत र निर्यात करिब ८२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष १८ खर्ब ४ अर्बको वस्तु आयात भएको छ। यो आयात अघिल्लो आर्थिक वर्षको तुलनामा १३.२५ प्रतिशत बढी हो।

गत आर्थिक वर्ष साउनमा १ खर्ब २८ अर्ब, भदौमा १ खर्ब ३४ अर्ब, असोजमा १ खर्ब २८ अर्ब, कात्तिकमा १ खर्ब २२ अर्ब, मंसिरमा १ खर्ब ४८ अर्ब, पुसमा १ खर्ब ६१ अर्ब, माघमा १ खर्ब ६६ अर्ब, फागुनमा १ खर्ब ५७, चैतमा १ खर्ब ६४ अर्ब र वैशाखमा १ खर्ब ६४ अर्ब ६५ करोड, जेठमा १ खर्ब ७० अर्ब र असारमा १ खर्ब ६० अर्ब रुपैयाँको आयात भएको छ।

यस्तै अघिल्लो आर्थिक वर्ष १ खर्ब ५२ अर्बमा सीमित रहेको निर्यात यस अवधिमा २ खर्ब ७७ अर्ब रुपैयाँको पुगेको छ, जुन अघिल्लो आर्थि वर्षको तुलनामा ८१.८० प्रतिशत बढी हो । निर्यातमा ठूलो हिस्सा भटमास तथा सोयाबिन तेलले ओगटेको छ।

गत आर्थिक वर्ष साउनमा १२ अर्ब २२ करोड ६१ लाख, भदौमा २५ अर्ब ९ करोड ३१ लाख, असोजमा ३८ अर्ब ३७ करोड ८७ लाख, कात्तिकमा ५२ अर्ब ६७ करोड ७ लाख, मंसिरमा ७३ अर्ब ६५ करोड ९७ लाख, पुसमा ९८ अर्ब ७८ करोड ९२ लाख, माघमा १ खर्ब २७ अर्ब २० करोड ४८ लाख, फागुनमा १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख, चैतमा १ खर्ब ८८ अर्ब १९ करोड ५० लाख, वैशाखमा २ खर्ब १७ अर्ब ९१ करोड १० लाख, जेठमा २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको निर्यात भएको छ।

एक वर्षको अवधिमा नेपालले वैदेशिक व्यापार १९.२४ प्रतिशतले बढेको छ । विभागको तथ्यांक अनुसार यस अवधिमा नेपालले २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख रुपैयाँ बराबरको बैदेशिक व्यापार गरेको छ ।

यता गत एक वर्षमा नेपालले १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख रुपैयाँको व्यापार घाटा व्यवहोरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष २०८० ८१ मा नेपालको व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ रहेको थियो ।