आर्थिक वर्ष २०८१/८२ मा नेपाली अटोमोबाइल बजार पुनः बाउन्स ब्याकको चरणमा प्रवेश गरेको देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार, समग्र सवारीसाधनको आयातमा उल्लेख्य वृद्धि भएको छ, जसले नेपाली अटो बजारमा पुनः चहलपहल फर्किएको संकेत दिएको छ।
विवरण अनुसार, विद्युतचालित प्यासेन्जर गाडी (इभी) को आयात अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले बढेर १३ हजार ५७८ युनिट पुगेको छ। यसबाट ३१ अर्ब ७६ करोड रुपैयाँको आयात हुँदा सरकारले १९ अर्ब ७० करोड रुपैयाँ भन्सार महसुल संकलन गरेको छ। अघिल्लो वर्ष ११ हजार ७०१ युनिट मात्र इभी आयात भएका थिए।
यस्तै, कमर्सियल इभीको आयातमा झनै ठूलो वृद्धि देखिएको छ। अघिल्लो वर्षको तुलनामा ७३ प्रतिशतले बढेर ३ हजार ८१३ युनिट पुगेको छ। ११ अर्ब ६ करोड रुपैयाँ बराबरको यो आयातबाट सरकारलाई २ अर्ब ७३ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ।
बाइक र स्कुटरको खपत झनै बुममा देखिएको छ। २०८१/८२ मा २ लाख १ हजार युनिट बाइक र स्कुटर आयात हुँदा २४ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यसबाट सरकारलाई २४ अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्ष १ लाख ३४ हजार ५५६ युनिट थियो।
तीनपाङ्ग्रे सवारीसाधनको कारोबार पनि बढेको छ। अघिल्लो वर्ष १ हजार ७१६ युनिट आयात भएकोमा, गत वर्ष ४ हजार २१२ युनिटसम्म पुगेको छ, जसको आयात मूल्य ८४ करोड रुपैयाँ बराबर रहेको छ।
त्यस्तै, इलेक्ट्रिक पावरट्रेन भएका दुई/तीन पाङ्ग्रे सवारीसाधनको आयात पनि उल्लेख्य रूपमा बढेर २९ हजार ४३७ युनिट पुगेको छ, जसको कुल मूल्य २ अर्ब ९६ करोड रुपैयाँ बराबर छ। यसबाट सरकारले १ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ।
इन्धन चालित प्यासेन्जर गाडीको आयात पनि बढेको छ। गत वर्ष ६ अर्ब ९३ करोड रुपैयाँ बराबरका ४ हजार ९७८ युनिट इन्धन गाडी आयात हुँदा सरकारले १६ अर्ब ७५ करोड रुपैयाँ भन्सार महसुल उठाएको छ। अघिल्लो वर्ष ४ हजार २४६ युनिट मात्र आयात भएका थिए।
यस्तै, कमर्सियल इन्धन गाडीको आयात ४ हजार २३७ युनिट पुगेको छ, जसको मूल्य ७ अर्ब २८ करोड रुपैयाँ बराबर रहेको छ। यसबाट ७ अर्ब ३६ करोड रुपैयाँ राजस्व संकलन भएको छ।