नेपालको अग्रणी औद्योगिक घराना पञ्चकन्या ग्रुपले रुपन्देहीको सियारीमा देशकै सबैभन्दा ठूलो यूपीभीसी (Unplasticized Polyvinyl Chloride) उद्योग ‘पञ्चकन्या डिमेक्स’ स्थापना गरेको छ । करिब ८० करोड रुपैयाँको लागतमा २ बिघा आफ्नै स्वामित्वको जग्गामा सञ्चालनमा आएको यो उद्योगले एक वर्षदेखि यूपीभीसीका झ्याल-ढोका उत्पादन गरी बिक्रीवितरण गर्दै आए पनि सोमबार भने आफ्ना चार मुख्य ब्रान्डका उत्पादनहरू औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
अन्तर्राष्ट्रिय गुणस्तरका रङ्गीन प्रोफाइलहरू
उद्योगले पञ्चकन्या डिमेक्स, निओ प्लास्ट, टोनिस र साल गरी चार थरिका यूपीभीसी प्रोफाइलको अफिसियल लन्च गरेको हो । यी उत्पादनमा कम्पनीले २० वर्षको वारेन्टी दिएको छ । पञ्चकन्या ग्रुपले नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय गुणस्तर र डिजाइनका उडन, ग्रे, वालनट र ब्ल्याक कलरका प्रोफाइल उत्पादन गरेको जनाएको छ । हालसम्म अन्य उद्योगहरूले सेतो रंगका प्रोफाइल मात्रै उत्पादन गरिरहेको सन्दर्भमा यो एक महत्त्वपूर्ण कदम हो । युरोपियन प्रविधिको प्लान्ट जडान गरिएको यस उद्योगले उत्पादन गरेका यूपीभीसी उत्पादनहरूलाई जर्मनको प्रख्यात एसकेजेड संस्थाले गुणस्तर प्रमाण चिह्न प्रदान गरिसकेको उद्योगका अध्यक्ष उज्ज्वलकुमार श्रेष्ठले बताए ।
आयात प्रतिस्थापन र रोजगारी सिर्जनामा योगदान
पञ्चकन्या डिमेक्स प्रोफाइलको अर्को महत्त्वपूर्ण विशेषता यसमा प्रयोग हुने टीपीई ग्यासकेट (रबर) हो । यसलाई अन्तर्राष्ट्रिय गुणस्तरको भनिएको छ, जुन छिट्टै टुटफुट नहुने, नबिग्रिने र लामो समयसम्म टिकाउ हुने कम्पनीको दाबी छ । अध्यक्ष श्रेष्ठका अनुसार, दुई वर्षको अध्ययनले नेपालमा वार्षिक १० हजार मेट्रिक टनसम्म अर्थात् नेपालमा खपत हुने कुल यूपीभीसी बजारको ९० प्रतिशत हिस्सा चीन र भारतबाट आयात भएको देखाएपछि यसमा राम्रो सम्भावना देखेर आयात प्रतिस्थापन र भविष्यमा निर्यात गर्ने लक्ष्यसहित नयाँ उद्योगमा लगानी गरिएको हो । हाल आयात हुने यूपीभीसीमध्ये ९० प्रतिशत चीन र १० प्रतिशत भारतबाट हुने गरेको छ । यो उद्योगले हाल ६५ जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ ।
निर्माण उद्योगमा ‘वान विन्डो सोलुसन’ को लक्ष्य
फलामे छड, खानेपानीका पाइप, पीभीसी पाइप, रेडिमेड कंक्रिटसहितका उत्पादनमा संलग्न पञ्चकन्या ग्रुपले निर्माण उद्योगको ‘वान विन्डो सोलुसन’ बन्ने उद्देश्यका साथ यूपीभीसी प्रोफाइल उद्योग पनि सञ्चालनमा ल्याएको अध्यक्ष श्रेष्ठले बताए । उद्योगबाट उत्पादित यूपीभीसी प्रोफाइलबाट बनेका झ्याल र ढोका निजी प्रयोजनका घरदेखि नेपालकै ठूलो हाउजिङ कम्पनी होराइजन अपार्टमेन्ट, तारे होटेल, अफिसहरूमा समेत माग भइरहेको श्रेष्ठले जानकारी दिए ।
उत्पादन क्षमता र भविष्यको योजना
उद्योगको वार्षिक उत्पादन क्षमता ६ हजार मेट्रिक टन रहेको छ, जुन नेपालको कुल यूपीभीसी बजारको ५० प्रतिशत हिस्सा हो । उद्योगले भविष्यमा उत्पादन वृद्धि गरेर आगामी दुई वर्षमा बजारको ३५ प्रतिशत हिस्सा ओगट्ने लक्ष्य राखेको छ । “चालु आर्थिक वर्षमा १५ प्रतिशत हिस्सा ओगट्ने लक्ष्य छ, अर्को वर्षसम्म ३५ प्रतिशत हुँदै ५ वर्षमा ५० प्रतिशत हिस्सा पञ्चकन्या डिमेक्सको पुर्याउँछौं,” अध्यक्ष श्रेष्ठले भने । उद्योगमा पञ्चकन्या ग्रुपको ५० प्रतिशत तथा बुटवलका युवा व्यवसायी रितेश सिलवाल र नारायण केसीको २५–२५ गरी ५० प्रतिशत लागत साझेदारी रहेको छ ।
उद्योगले अमेरिका, जापान, जर्मनी, चीन, भियतनाम, भारत लगायत देशबाट कच्चा पदार्थ आयात गर्छ । कच्चा पदार्थ आयातमा १० प्रतिशत भन्सार र तयारी यूपीभीसी प्रोफाइल आयातमा ३० प्रतिशत भन्सार दर हुँदा प्रतिस्पर्धा गर्न कठिन भएकाले कच्चा पदार्थ आयातमा भन्सार दर ५ प्रतिशत हुनुपर्ने भन्दै अध्यक्ष श्रेष्ठले सरकारलाई आग्रह गरेका छन् ।
बजारको सम्भावना र उपभोक्ता जागरण अभियान
अध्यक्ष श्रेष्ठका अनुसार, पछिल्लो समय मुख्य शहर र बजार क्षेत्रमा यूपीभीसीका झ्याल-ढोका प्रयोगको हिस्सा ४५ प्रतिशत पुगेको छ र यो अझै बढ्ने क्रममा छ । “सहजै पाइने, छिटो-छरितो जडान हुने, हेर्दा आकर्षक, हलुङ्गो र मूल्य पनि काठभन्दा किफायती हुने भएकाले यूपीभीसीप्रति सामान्यदेखि सम्भ्रान्त वर्गसम्मका उपभोक्ताको आकर्षण बढ्दो क्रममा पाएका छौं,” उनले भने ।
उद्योगका निर्देशक उदिप श्रेष्ठका अनुसार, कम्पनीले पञ्चकन्या डिमेक्स प्रोफाइलको गुणस्तर र विशेषताबारे जानकारी गराउन चालु वर्षदेखि यूपीभीसीको काम गर्ने फेब्रिकेटर र विक्रेता-व्यवसायीलाई तालिम तथा परामर्श दिने योजना बनाएको छ । उद्योगका म्यानेजिङ डाइरेक्टर रितेश सिलवालले गुणस्तरीय उत्पादनसँगै उपभोक्तामा जागरण ल्याउने अभियान थाल्ने बताए । “हाम्रा उत्पादन उपभोक्तासम्म पुर्याउने मुख्य भूमिका फेब्रिकेटर र विक्रेताको हो, अब हामी उनीहरूसम्म पुग्छौं,” सिलवालले भने । यसका लागि बुटवल र काठमाडौंमा तालिम केन्द्र स्थापना गरिने र दक्ष फेब्रिकेटरलाई सर्टिफाइड गरेर मात्र आफ्ना उत्पादनको सही तरिकाले जडान र फिटिङ गर्न पठाइने योजना छ । नेपालमा हाल करिब ८०० जना यूपीभीसी मिस्त्री र ४७ व्यवसायी छन्, जसमध्ये २०० जना पञ्चकन्या डिमेक्ससँग जोडिसकेका सिलवालले जानकारी दिए ।