मोबाइल फोन प्रयोग गर्ने प्रायः सबैलाई ‘फ्लाइट मोड’ वा ‘एयरप्लेन मोड’को बारेमा थाहा हुन्छ। यो यस्तो फिचर हो जसले फोनका सबै वायरलेस नेटवर्कहरू अस्थायी रूपमा बन्द गर्छ। सामान्यतया हवाई यात्राका क्रममा, विमानको नेभिगेसन प्रणालीमा फोनको सिग्नलले असर नपारोस् भनेर फ्लाइट मोड राखिन्छ।
तर धेरैलाई यो मोड अन्य धेरै दैनिक परिस्थितिहरूमा पनि उपयोगी हुन्छ भन्ने थाहा नहुन सक्छ । यहाँ तपाईंको फोनमा फ्लाइट मोडको केही अन्य उपयोगका तरिकाहरू छन्
ब्याट्री बचाउने सबैभन्दा सजिलो उपाय
सिग्नल कमजोर भएका ठाउँमा फोनले लगातार नेटवर्क खोजिरहन्छ, जसले ब्याट्री छिटो सकिन्छ। यस्तो अवस्थामा फ्लाइट मोड अन गर्दा फोनको पावर जोगिन्छ।
छिटो चार्ज गर्न सहयोगी
फोन छिटो चार्ज गर्न चाहनुहुन्छ भने, चार्ज गर्नुअघि फ्लाइट मोड अन गर्नुहोस्। नेटवर्क खोज्नुपर्दैन भनेर फोनको ऊर्जा कम खर्च हुन्छ, र चार्जिङ गति २०–२५ प्रतिशतले बढ्न सक्छ।
बालबालिकाका लागि सुरक्षित मोड
फोनमा खेल वा भिडियो हेर्न बच्चालाई दिनु पर्यो भने फ्लाइट मोड अन गर्नुहोस्। यसले मोबाइल डाटा बन्द गर्छ र बच्चाले इन्टरनेटमा प्रवेश गर्न वा अनावश्यक एप डाउनलोड गर्न सक्दैनन्।
फोन तातिन नदिन सहयोगी
सिग्नल नभएको ठाउँमा फोन तातिन सक्छ, किनकि फोनले लगातार सिग्नल खोजिरहन्छ। फ्लाइट मोड अन गर्दा यो प्रक्रिया रोकिन्छ र फोन चिसो रहन्छ।
ध्यान केन्द्रित गर्न सहयोगी
पढ्दा वा काम गर्दा ध्यान केन्द्रित गर्नुपर्छरु फ्लाइट मोडले सबै कल, सन्देश र नोटिफिकेसन बन्द गर्छ, जसले अवरोधबिना काम गर्न सजिलो बनाउँछ।
फ्लाइट मोडमा इन्टरनेट चलाउन मिल्छ ?
फ्लाइट मोड अन गरेपछि पनि वाईफाई र ब्लुटूथ छुट्टै अन गर्न सकिन्छ। यसरी मोबाइल नेटवर्क नचलाए पनि इन्टरनेट ब्राउज, वायरलेस हेडफोन जडान वा वाईफाई मा चल्ने एपहरू प्रयोग गर्न सकिन्छ।
टेक्नोलोजी खबरबाट साभार