१० अर्बको विकास ऋणपत्र जारी हुँदै

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज (बुधबार) “विकास ऋणपत्र २०८५” नामक १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्न लागेको छ। तीन वर्षे अवधिको उक्त ऋणपत्र प्रतिस्पर्धात्मक बोलकबोल (bidding) प्रक्रियामार्फत बिक्री गरिनेछ।

बोलकबोल प्रक्रिया बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत दोस्रो बजारमा कारोबार गर्न सकिनेछ र बैंकहरूबाट ऋण लिन तथा दिन धितोस्वरूप प्रयोग गर्न सकिने व्यवस्था छ।

ऋणपत्रमा छमाही रूपमा ब्याज तिर्ने व्यवस्था गरिएको छ भने यो करयोग्य (taxable) हुनेछ। मुलधन भने २०८५ साल साउन ८ गते फिर्ता दिइनेछ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार इच्छुक लगानीकर्ताहरूले प्रतिस्पर्धात्मक (competitive) वा अप्रतिस्पर्धात्मक (non-competitive) विधिबाट सहभागी हुन सक्नेछन्।

कुल १० अर्बमध्ये ८.५ अर्ब रुपैयाँ (८५%) प्रतिस्पर्धात्मक बोलकबोलका लागि छुट्याइएको छ भने १.५ अर्ब रुपैयाँ (१५%) अप्रतिस्पर्धात्मक विधिबाट बिक्री गरिनेछ।

यदि अप्रतिस्पर्धात्मक बोलकबोलको लागि छुट्याइएको हिस्सा पूरा नभएमा बाँकी हिस्सा प्रतिस्पर्धात्मक विधिका बोलकबोलकर्ताहरूलाई दिइनेछ। तर, यदि अप्रतिस्पर्धात्मक माग तोकिएकोभन्दा बढी भएमा सो हिस्सा अनुपातमा बाँडफाँट गरिनेछ।

हाल सरकारले चालु आर्थिक वर्षमा आन्तरिक ऋणमार्फत ३ खर्ब ६२ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। विकास ऋणपत्रमार्फत प्राप्त हुने रकम मुख्यतः पूर्वाधार निर्माण तथा सरकारका विकास खर्चहरूमा खर्च गरिने अपेक्षा गरिएको छ।