अब लामो समयदेखि निष्क्रिय रहेका सेयर कारोबारका खाताहरू स्थगन वा बन्द हुने भएका छन्। नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नयाँ नीति तथा कार्यक्रममार्फत पाँच वर्षदेखि नवीकरण नगरिएका वा सेयर कारोबार नभएका खाताहरूलाई निष्क्रिय मानी बन्द गर्ने प्रक्रिया अगाडि बढाएको हो।
बोर्डका अनुसार, यदि यस्तो निष्क्रिय खाता बन्द गर्दा नवीकरण शुल्क असुल गर्न सकिएन भने छुट दिइनेछ। तर, शुल्क असुल गरिएको अवस्थामा भने सो रकम सिधै सिडिएस एन्ड क्लियरिङ लिमिटेड (CDSC) मा मात्र बुझाउने व्यवस्था लागू गरिनेछ।
यस प्रयोजनका लागि बोर्डले सीडीएससीलाई विद्यमान नियम परिमार्जन गरी विनियम संशोधनको प्रस्ताव पेश गर्न समेत निर्देशन दिइसकेको छ। बोर्डको भनाइअनुसार, यो व्यवस्था लागू भएपछि सेयर बजारमा निष्क्रियता कम हुनुका साथै कार्यक्षमता र पारदर्शिता पनि बढ्नेछ।
नयाँ नीतिले सेयर लगानीकर्ताहरूलाई समयमै खाता नवीकरण गर्न र आवश्यक कारोबार सक्रिय रूपमा गर्न प्रेरित गर्नेछ। साथै, निष्क्रिय खातामार्फत हुन सक्ने सम्भावित दुरुपयोग तथा प्रणालीगत कमजोरीलाई पनि रोकथाम गर्ने लक्ष्य लिइएको छ।