नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी उपमहासचिव जनार्दन शर्माप्रति लक्षित गर्दै पार्टीभित्र सिंगौगरी खेल्न दिइरहेको टिप्पणी गर्नुभएको छ ।
आज बुधबार काठमाडौँमा आयोजित ‘पुष्पलाल स्मृति दिवसमा समाजवादी मोर्चाको विचार गोष्ठी’ कार्यक्रममा त्यस्तो सिंगोरी खेल्ने मान्छेलाई आफूले परामर्श भन्दै देशैभरी लिएर हिँडेको उहाँले बताउनुभयो ।
प‘हिले पनि केही साथीहरुले ल त भनेर अलिअलि सिंगौरी खेल्न पाए हुन्थ्यो जस्तो गर्नुभएको छ,’ प्रचण्डले भन्नुभयो, ‘उहाँलाई प्रशस्त सिंगौरी खेल्न दिएको छु। सिंगौरी खेल्न मन लागे खेल्नुस् भनेर दिएको छु। डेढ महिना परामर्श भन्दै देशैभरी लिएरै हिँडेँ मैले। यो भन्दा बढी गर्ने के हो जनवाद ?’
भिन्न मतलाई दमन गर्ने कमजोरी आफ्नो नभएको भन्दै उहाँले पार्टी छोडेर गएका कुनै पनि नेतालाई आफूले कारबाही नगरेको जिकिर गर्नुभयो ।
‘भिन्न मतलाई दमन गर्ने मेरो कमजोरी होइन, भिन्न मतप्रति अलि बढी उदार भने मेरो कमजोरी हो,’ प्रचण्डले भन्नुभयो, ‘मलाई मेरो पार्टीभित्र बढी आलोचना हुने विषय पनि यही हो। मैले कसैलाई कारबाही गरिनँ।’
उहाँले थप्नुभयो, ‘कमरेड किरण, कमरेड बाबुराम, कमरेड बादल, अरु अरु थुप्रै थुप्रै। कसैलाई पनि मैले पार्टीबाट निकालेको चाहीँ छैन। तर कतिपय साथीहरुलाई लाग्छ, ननिकालेर के गर्ने बस्ने ठाउँ नै नदिएपछि। त्यो पनि सत्य होइन। मैले पर्याप्त छलफलको वातावरण दिने गरेको छु।’
पुष्पलाल स्मृति दिवसकै कार्यक्रममा उपमहासचिव शर्माले कम्युनिष्ट पार्टीभित्र प्रश्न सुन्न छोडिएको र जनवाद समाप्त भएर केन्द्रीयता मात्रै बाँकी रहेको टिप्पणी गर्नुभएको थियो ।