बैंकहरूमा थुप्रियो ९ खर्ब लगानीयोग्य रकम, ऋण प्रवाह सुस्त

नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकअनुसार, असार मसान्तसम्म वाणिज्य बैंकहरूसँग कुल ९ खर्ब २ अर्ब ५५ करोड रुपैयाँ बराबरको लगानीयोग्य रकम थुप्रिएको छ। हाल बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७६.१८ प्रतिशत रहेको छ भने केही ठूला बैंकहरूको सीडी रेसियो साढे ६२ प्रतिशत हाराहारीमा झरेको छ। समीक्षाअवधिमा बैंकहरूले कुल ६५ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्, तर त्यसको तुलनामा कर्जा प्रवाह ४९ खर्ब ७४ अर्ब रुपैयाँमा सीमित भएको छ। निक्षेप संकलनमा १३.४८ प्रतिशत वृद्धि भए पनि कर्जा प्रवाह केवल ८.८३ प्रतिशतले बढ्दा बैंकिङ प्रणालीमा ठूलो मात्रामा लगानीयोग्य रकम निष्क्रिय बनेको देखिएको छ।

राष्ट्रिय वाणिज्य बैंकसँग सबैभन्दा धेरै १ खर्ब ३५ अर्ब ३९ करोड रुपैयाँ लगानीयोग्य रकम छ। यस बैंकको सीडी रेसियो ६२.५९ प्रतिशत मात्र छ। त्यसैगरी, ग्लोबल आइएमई बैंकसँग ८० अर्ब १० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसँग ७४ अर्ब ११ करोड, प्रभु बैंकसँग ७१ अर्ब ८४ करोड र नेपाल बैंकसँग ६४ अर्ब ३७ करोड रुपैयाँ लगानीयोग्य रकम रहेको छ। अन्य बैंकहरूमध्ये कृषि विकास बैंकसँग ५२ अर्ब ९३ करोड, नबिल बैंकसँग ४५ अर्ब ३४ करोड, एनआईसी एशिया बैंकसँग ४२ अर्ब ९९ करोड, लक्ष्मी सनराइजसँग ३९ अर्ब ७४ करोड, नेपाल एसबिआईसँग ३८ अर्ब ४० करोड, एभरेष्ट बैंकसँग ३७ अर्ब ७० करोड, सिद्धार्थसँग ३७ अर्ब ७ करोड र हिमालयन बैंकसँग २९ अर्ब ४९ करोड रुपैयाँ लगानीयोग्य रकम छ।

त्यस्तै, स्ट्याण्डर्ड चार्टर्डसँग २६ अर्ब १९ करोड, सानिमा बैंकसँग २२ अर्ब ८४ करोड, एनएमबि बैंकसँग २० अर्ब ८४ करोड, प्राइम बैंकसँग १७ अर्ब ७१ करोड, माछापुच्छ्रे बैंकसँग १७ अर्ब ४३ करोड र सिटिजन्स बैंकसँग १७ अर्ब ३१ करोड रुपैयाँ लगानीयोग्य रकम रहेको छ। हाल बैंक तथा वित्तीय संस्थाहरूले अधिकतम ९० प्रतिशत सीडी रेसियोसम्म कर्जा प्रवाह गर्न पाउने भए पनि अधिकांश बैंकहरू सो स्तरभन्दा निकै तल छन्। यसले कर्जा प्रवाहमा मन्दी ल्याउनुका साथै उत्पादनशील क्षेत्रमा लगानीको कमी भई समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न सक्ने देखिएको छ। विश्लेषकहरूका अनुसार अब बैंकहरूले कर्जा विस्तारलाई प्राथमिकता दिनुका साथै लगानीमैत्री नीति ल्याउन जरुरी देखिएको छ।