कोरोना महामारी, राजनीतिक अस्थिरता र विश्वव्यापी आर्थिक मन्दीको प्रभाव खेपिरहेको नेपाली अर्थतन्त्र अब पुनरुत्थानको मार्गमा लाग्दै गरेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१–८२ को अर्ध–वार्षिक प्रतिवेदनले यस वर्षको आर्थिक वृद्धिदर ४.६ प्रतिशत पुग्ने प्रारम्भिक अनुमान गरेको हो, जुन अघिल्लो वर्षको ३.७ प्रतिशतभन्दा उल्लेखनीय सुधार हो।
प्रतिवेदनअनुसार, बिगत केही वर्षदेखि खुम्चिँदै गएको आर्थिक गतिविधि अहिले पुनः लयमा फर्कन थालेको देखिन्छ। कृषि, उद्योग, सेवा र पूर्वाधार क्षेत्रको सुधारले यो वृद्धिमा महत्वपूर्ण योगदान गरेको हो। विशेष गरी अघिल्लो वर्ष संकुचनमा रहेका क्षेत्रहरू यस वर्ष सकारात्मक क्षेत्रमा प्रवेश गरेको देखिएको छ।
मुद्रास्फीति सापेक्षतः नियन्त्रणमा रहेको र मूल्य स्थायित्व सम्भव रहेको बताइएको छ। भारतमा मूल्य वृद्धि नियन्त्रणमा रहनु, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आउनुजस्ता कारणले मूल्य चाप घटेको छ। यद्यपि, भू–राजनीतिक अस्थिरता र आपूर्ति श्रृंखलामा अवरोधका कारण केही जोखिम भने रहेको प्रतिवेदनमा उल्लेख छ।
कृषि र पशुपालन क्षेत्रले पनि सामान्य वृद्धि देखाएका छन्। सिञ्चित जमिनको क्षेत्रफल वृद्धि, रासायनिक मल र उन्नत बीउको पहुँच सजिलो हुनुका कारण कृषि उत्पादनमा सुधार भएको छ। पशुपालनमा पनि दूध र मासुको माग वृद्धि, युवा पुस्ताको आकर्षण र पशु सेवा पहुँचले सुधार ल्याएको छ।
औद्योगिक उत्पादनमा विद्युत् आपूर्तिमा भएको वृद्धिले उद्योगहरूको क्षमता उपयोग बढाएको छ। निजी क्षेत्रको लगानी विस्तार, कर्जा प्रवाहमा सहजता र निर्माण सामग्रीको सस्तो मूल्यले औद्योगिक उत्पादनमा पुनः उभार ल्याएको देखिन्छ।
सेवा क्षेत्रले विदेशी पर्यटक आगमन, आन्तरिक पर्यटन र बैंकिङ कर्जाको सहज पहुँचका कारण वृद्धि देखाएको छ। यातायात, संचार, उपभोग्य वस्तु, रियल स्टेट जस्ता उपक्षेत्रहरू पनि विस्तार हुँदै छन्।
पूर्वाधार क्षेत्रमा पनि पुँजीगत खर्च र राजस्वमा सन्तुलन नदेखिए पनि सुरुङमार्ग, जलाशययुक्त जलविद्युत् आयोजना र सडक स्तरोन्नति जस्ता परियोजनाले गति लिएका छन्। पुनर्निर्माण र सरकारी पहलले दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ।
बाह्य क्षेत्रले निर्यात र विप्रेषण आप्रवाहमा वृद्धि गरेको छ, जसले शोधनान्तर वचतमा उल्लेख्य वृद्धि गरेको छ। विदेशी मुद्रा सञ्चिति पनि सुविधाजनक अवस्थामा रहेको छ।