देशको व्यापार घाटा कम गर्न योगदान दिँदै आएको सिमेन्ट तथा क्लिंकरको निर्यात पछिल्लो आर्थिक वर्षमा उल्लेख्य रूपमा घटेको छ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालले २ अर्ब ९१ करोड ६७ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २४.२९ प्रतिशतले कम हो। आर्थिक वर्ष २०८०/८१ मा भने ३ अर्ब ८५ करोड २८ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो।
विगत वर्षको तुलनामा पोर्टल्यान्ड सिमेन्टको निर्यात मात्रा र मूल्य दुबै घटेका छन्। २०८१/८२ मा ३ लाख ५६ हजार ४७३ मेट्रिक टन पोर्टल्यान्ड सिमेन्ट २ अर्ब २१ करोड ९४ लाख रुपैयाँमा निर्यात भयो भने क्लिंकर ४ लाख ९० हजार २७२ मेट्रिक टन निर्यात भई ६९ करोड ७३ लाख रुपैयाँ आम्दानी भएको छ। अघिल्लो वर्ष सोही अवधिमा सिमेन्ट निर्यात २३ लाख ३२ हजार टन र क्लिंकर निर्यात ५ लाख ६ हजार टन पुगेको थियो।
नेपाली सिमेन्ट र क्लिंकरको मुख्य बजार भारत मात्र रहेकोमा हाल त्यसतर्फ पनि चुनौती देखिएको छ। भारतले नेपाली सिमेन्टलाई दिने गुणस्तर प्रमाणपत्र ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (BIS) समयमै नवीकरण नगर्दा निर्यात घटेको उद्योगहरूले जनाएका छन्।
विशेषगरी पाल्पाको तानसेन सिमेन्ट, अर्घाखाँची सिमेन्ट, बालाजी र सर्वोत्तम सिमेन्ट भारत निर्यात हुने गरेका थिए। तर प्रमाणपत्र अवरोधले उत्पादन क्षमतामा असर नपरे पनि निर्यातको गन्तव्य सीमित भएको छ।