संवैधानिक परिषद्‍मा बहुमतले निर्णय गर्न सक्ने व्यवस्था राख्नुपर्ने : कांग्रेस नेता सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संवैधानिक परिषद्‍मा बहुमतले निर्णय गर्न सक्ने व्यवस्था राख्नुपर्ने बताउनुभएको छ ।

आज आइतबार होटेल यल्लो प्यागोडामा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले निर्णयको सहजताका लागि त्यस्तो व्यवस्था राख्नुपर्ने तर्क गर्नुभएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले भने बहुमतले निर्णय गर्न सक्नेगरि संसद्बाट पारित भएर गएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता गरिदिनुभएको छ ।

‘मलाई लागेको के हो भने संवैधानिक परिषद्ले पहिलो चरणमा सर्वसम्मतीले निर्णय गर्नुपर्छ। त्यसबेला बहाल रहेका सबै सदस्यहरू उपस्थित भएनन् भने सबै उपस्थित हुनुपर्छ र सर्वसम्म निर्णय लिनुपर्छ भन्ने पहिलो हो,’ सिटौलाले भन्नुभयो, ‘विधेयकको मनसाय त्यही मैले बुझेको हो।’

उहाँले थप्नुभयो, ‘दोस्रो सर्वसम्मत हुन सकेन र सबै सदस्य उपस्थित हुन सकेनन् भने के गर्ने भन्ने छ। दोस्रो पटक बैठक बोलाउँदा बहुमत उपस्थित भए भने बहुमतले निर्णय गर्नुपर्छ भन्ने हो।’

संवैधानिक पषिद्‍मा ६ जना सदस्य हुने र चुनाव हुने बेला ३ सदस्य मात्रै कायम रहने भन्दै त्यसको बेला पनि निर्णय गर्नुपर्ने सिटौलाले उल्लेख गर्नुभयो ।

‘संवैधानिक परिषद्‍मा ६ जना सदस्य हुन्छन्, प्रधानन्यायाधीश सिफारिस गर्ने बैठकमा भने कानुनमन्त्री पनि उपस्थित हुन्छन्,’ उहाँले भन्नुभयो, ‘बहालवाला ६ जना छन् भने त्यसको बहुमत ४ हो। अध्यक्षसहित ४ हो। मानौं कुनै बेला ४ जना मात्रै बहाल भएका छन् भने ४ को पनि बहुमत भनेको ३ हो। २ हुँदैन। ३ भयो भने २ भयो।’

सिटौलाले भन्नुभयो, ‘प्रतिनिधिसभा भंग भएकै दिन विपक्षी दलको नेता रहन्न्। नोमिनेसन भएपछि सभामुख र उपसभामुख पनि रहन्न्। अनि ३ जना भयो। त्यसबेला निर्वाचन आयोगको अनुमति लिएर पनि निर्णय गर्नुपर्छ। रिक्त राख्नुहुँदैन।’