नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्किन नदिन हरसम्भव कोसिस गरिरहनुभएको छ । उहाँले च्यासल बैठकमा सहभागी नेताहरूलाई बालुवाटारमै बोलाएर पूर्वराष्ट्रपतिका लागि पार्टीभित्र कुनै स्थान नदिन निर्देशन दिइरहनुभएको हो ।
गत असार १४ गते एमालेको राजनीतिमा आउने घोषणा गरेकी भण्डारीको संगठित सदस्यतासमेत साउन ६ गतेको केन्द्रीय कमिटीबाट निष्क्रिय बनाइसकेका ओली अहिले आन्तरिक छलफलमा ओली
गत बिहीबार बबरमहलमा पत्रकार सम्मेलन गरेर पूर्वराष्ट्रपति भण्डारीले आफूलाई एमालेकी पूर्वउपाध्यक्षका रुपमा प्रस्तुत गरेयता ओलीले प्रदेश कमिटी र भूगोलका नेताहरूलाई बालुवाटार बोलाउँदै छेक्ने अभियान थाल्नुभएको हो । उहाँले पूर्वराष्ट्रपतिका लागि कुनै पनि बैठक, फोरम र छलफलका लागि स्थान नदिन निर्देशन दिइरहनुभएको छ ।
उहाले सम्बन्धित प्रदेशका इन्चार्जसहितका नेताहरूलाई प्रधानमन्त्रीको सरकारी निवासमै बोलाएर विद्या भण्डारीका लागि पार्टीभित्र कुनै स्थान नराख्न निर्देशन दिनुभएको हो ।
भण्डारीले आफू मदन भण्डारी फाउन्डेसनबाट सक्रिय हुने कोसिस गरिरहेका बेला ओलीले उनलाई हावाको झोंक्काको संज्ञासमेत दिनुभएको छ ।
साउन पहिलो साता बसेको केन्द्रीय कमिटी बैठकमा भाग लिन आएका कर्णालीका नेताहरूलाई ओलीले शनिबार बालुवाटारमै बोलाउनुभयो । पूर्वराष्ट्रपतितिर लक्षित गर्दै पार्टीमा जबरजस्त देखाइएको हावाको झोंक्काको पछि नलागी एक भएर अघि बढ्न ओलीको आग्रह छ ।
हिजो शनिबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा तीन घण्टा लामो छलफलमा अध्यक्ष ओलीले कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्यलाई यस्तो निर्देशन दिनुभएको हो ।
एमालेको नवौँ केन्द्रीय किमिटी बैठकमा कर्णालीले एकताबद्ध भएको सन्देश दिएकोमा धन्यवाद दिँदै अध्यक्ष ओलीले संघर्षपूर्ण इतिहासमा ठूल्ठूला तुफानको सामना गरेको एमालेका लागि पछिल्लो पटक देखाउन खोजिएको सानो हावाको झोंक्काले केही असर नगर्ने जिकिर गर्नुभयो ।
‘सिंगो एमाले पार्टी र हामी पार्टीका नेता संघर्षपूर्ण इतिहासमा ठूला–ठूला आँधी र तुफानको सामाना गरेर अहिलेको अवस्थासम्म आइपुगेका हौं’, बैठकमा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिले बाहिर देखिएको यो सानो हावाको झोंक्का हो । सामान्य रुपमा समाधान हुन्छ । तपाईंहरू यसमा अल्मलिनुभन्दा आफ्नो जिम्मेवारीको भूगोल र क्षेत्रको पार्टी निर्माणमा एकताबद्ध भएर लाग्नुहोस् ।’