काठमाडौंको कमलादीस्थित ७५ मिटर अग्लो स्काई वाक टावर अब केवल दृश्यावलोकनको गन्तव्य मात्र नभइ साहसिक खेलहरूको नयाँ केन्द्र बनाउँदैछ। वोन्डर्स नेपाल प्रालिले यसलाई एक ‘एक्स्ट्रीम एड्भेञ्चर जोन’ का रूपमा विस्तार गर्न ७ करोड रुपैयाँको पूरक लगानी योजना अघि सारेको छ। कम्पनीले हालै वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गरी वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ। अब आगामी दिनमा यहाँ २० प्रकारका साहसिक खेलहरूको अनुभव लिन सकिनेछ। नयाँ योजनाअनुसार, बन्जी जम्प, स्काई साइकलिङ, जीपलाइन, ह्यामक राइड, एज वाक, स्काई चेयर जस्ता रोमाञ्चक खेलहरू स्काई वाक टावरमा सञ्चालनमा आउने छन्।
अग्लो टावरबाट पहिलो पटक फ्रिफल जम्प र रिभर्स बन्जी जस्ता साहसिक खेलहरू राजधानीमा सञ्चालनमा आउन लागेको छ। यस्ता खेलहरू अहिलेसम्म केवल पोखरा, कुश्मा र विदेशका गन्तव्यहरूमा मात्र उपलब्ध थिए। विशेष आकर्षणका रूपमा २०० मिटरको जीपलाइन, १५० मिटरको ह्यामक राइड, फूल ग्लास सेल्फी डेक, स्नो रूम र हाई रोप कोर्स पनि राखिनेछ। यस परियोजनाबाट दैनिक ५०० पर्यटक आकर्षित हुने अपेक्षा गरिएको छ। अहिले औसत आगन्तुक संख्या २००–२५० मात्र छ, जसको तुलनामा दुई गुणाभन्दा बढी आगन्तुक आउने अनुमान गरिएको छ। यसले काठमाडौंको पर्यटन चक्रमा ठूलो उत्साह ल्याउनेछ।
परियोजनामा ८९ करोड रुपैयाँ को कुल लगानी हुनेछ। वातावरणीय प्रभाव मूल्याङ्कन अनुसार, परियोजनाबाट उत्पन्न हुने असरहरू मुख्यत: अस्थायी प्रकृतिका हुने देखिएका छन्। ध्वनि प्रदूषण, जमिनको कम्पन र ट्राफिक व्यवस्थापनका लागि स्पष्ट कार्ययोजना तयार गरिएको छ। यो आयोजना नेपालका निजी क्षेत्रबाट गरिएको एक अग्रगामी सहरी मनोरञ्जन परियोजना का रूपमा लिइएको छ, जसले काठमाडौंको साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।