आज जुलाई २९, विश्व बाघ दिवस । ‘सहअस्तित्व र आयआर्जन, बाघ संरक्षणको लागि मानव व्यवहार परिवर्तन’ भन्ने नारा गुञ्जिरहेको छ—तर यति भनिरहँदा, कञ्चनपुरको एक गाउँकी मिना शाहको आँखा फेरि रसाउँछन् ।
एक वर्ष भयो त्यो दिनलाई, जब उनले आफ्नी देवरानीलाई बाघको आक्रमणबाट गुमाइन् । आज पनि त्यो साँझ उनको आँखामा चलचित्रजस्तै घुमिरहन्छ—धेरै चुप लागेका कुराहरू सुस्केरा बनेर बाहिर निस्कन्छन् ।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै ‘पहिला कहिल्यै यस्तो सुनेकै थिइनौँ यहाँ बाघ आइहाल्छ भनेर,’ उनी भन्छिन्, ‘अघिल्लो साँझ बाघ देखिएको खबर थियो, तर त्यसपछि केही पत्तो थिएन । हामी त खेतमै थियौँ । कसैले सावधानी पनि दिएन, कसैको चेतावनी पनि आएन ।’
उनी त्यो दिन आफ्नी देवरानीभन्दा अलिक परको खेतमा थिइन् । सधैंजस्तै हल्का थकाइ र खेतको माटोमा गोडमेल गर्दैगर्दा, उनले अनौठो हलचल देखिन् । बाघको छायाँ देखेकी थिइन्, तर तबसम्म…‘देवरानीलाई कता लग्यो, के ग¥यो, केही पत्तो लागेन,’ उनले भारी स्वरमा भनिन्, ‘केवल देवरानीको बचेको थियो रगतका छिटा ।’
त्यो दिन आवाज मच्चाउने कोही थिएन । डरले हरेक अनुहार चुप थिए । मिना आफैँ डरले कठ्यांग्रिएकी थिइन् ।
‘हल्ला गर्न, सहयोग माग्न, बचाउने केही गर्न हामीले सक्दै सकेनौँ,’ उनी भन्छिन्, ‘सबै जनालाई आफ्नै ज्यानको चिन्ता थियो । लास भेटियो… त्यो त भाग्य थियो ।’
उही गाउँका वृद्ध तिलपति पन्त आज पनि झस्किन्छन् जब कसैले बाघको कुरा गर्दा । ‘२०८१ सालमा लागेको थियो बाघ,’ उनी सम्झन्छन्, ‘एकैछिनको त्रास थियो त्यो— अहिलेसम्म पनि मनमा गहिरो घाउ छ ।’
पन्तले बताएजस्तो पहिलेजस्तो जंगल अहिले छैन । खोल्सो, झाडी, हरियाली सब मासिँदै गयो । त्यसैले बाघ गाउँ पस्न थालेको हो ।
‘बाघ पनि त बाँच्न चाहन्छ नि, भोक मेट्न चाहन्छ,’ उनी भन्छन्, ‘हामीजस्तै ऊ पनि पेटभरि खान खोज्छ । तर कहाँबाट खानु ? जंगल मासियो, शिकार घट्यो, उसको विकल्प नै छैन ।’
नेपाल न्यूज बैंकसँग कुरा गर्दै पन्त अहिले पनि गाउँमा बाघको त्रास रहेको बताउँछन् । उनले भने, ‘तरपनि अहिलेसम्म बाघको अहंकार त कम छ । त्यो घटना पछि त्रास अझैपनि छ ।’ बच्चाहरूलाई साँझ परेपछि एक्लै हिँड्न दिइँदैन । ‘सावधानी त छ तर मनको डर कहाँ हट्छ र ?’ उनी भन्छन् ।
बाघको संरक्षणका लागि संसारभरिका सरकारहरू, संस्था, संरक्षणविद्हरूले ठूलो लगानी गरेका छन् । तर जब संरक्षणले मानवीय जीवनमा आँसु, डर र मृत्यु ल्याउँछ, त्यो मूल्य कसले चुकाउने ? कञ्चनपुरको त्यो गाउँ यो प्रश्नको साक्षी बनेको छ ।
बाघका लागि बन नबच्दा, बाघ आफैँ गाउँ आएको हो । तर त्यो बाघ आयो, अनि त्यो साँझ एउटा मान्छे गयो । ‘सहअस्तित्व’ शब्द सुन्नमा मिठो लाग्छ–मानौँ मान्छे र बाघ एउटै धर्तीमा सँगै बाँच्न सक्ने छन् ।
तर त्यो सँगै बाँच्ने प्रयासमा एकतर्फ बाघको जीवन बचाउने संरक्षण हुन्छ, अर्कोतर्फ खेतमा काम गर्ने गरीब किसानको ज्यान गुम्ने जोखिम हुन्छ ।
हाम्रो नीतिमा बाघको लोप हुन नदिन योजना छ । तर देवरानी गुमाएकी मिना शाहका लागि त्यो योजना पीडाको पर्याय बनिरहेको छ ।
ती किसानहरूको आँखामा सहअस्तित्व तब हुनेछ, जब उनीहरूको सुरक्षालाई पनि संरक्षणको हिस्सा मानिन्छ । शायद त्यो दिन एक दिन आउला–जब कुनै मीना आफ्नो देवरानी गुमाउँदिनन् ।
जब जंगल हराउँदैन र बाघ बाँच्नका लागि गाउँ आउँदैन । जब संरक्षणको अर्थ एउटाको जीवन जोगाउन अर्कोको बलि दिनु हुँदैन । जब सहअस्तित्व नारा मात्र होइन, व्यवहार बनोस् ।
त्यो दिन अझै टाढा होला, तर आज बाघ दिवस ! त्यो यात्राको सम्झना बाघको लागि मात्र होइन, मिना शाहजस्ता सयौँ गाउँलेका लागि पनि हो ।
तर दोधारा चाँदनी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष पदम सिहं रावलले वडामा विभिन्न किसिमका कार्यक्रमहरु गरेर बाघलाई गाउँ प्रवेश गर्न नसक्ने वातावरण बनाइरहेको दाबी गर्छन् ।
कंचनपुरमा बाघको आक्रमणबाट अहिलेसम्म दुई जनाको ज्यान गइसकेको छ। गतवर्ष दोधारा र त्यसअघि बेलौरीमा वाघले आक्रमण गरेको हो। दुबै ठाउमा भारतीय जङ्गलबाट आएका बाघले आक्रमण गरेर ज्यान गएको हो । शुक्लाफाटाका बाघको घनत्व बढी भएपनी अहिलेसम्म बस्ती छिरेर आक्रमण गरेको पाइँदैन् ।
कंचनपुरमा बाघको आक्रमणबाट अहिलेसम्म २ जनाको ज्यान गएको छ । गतवर्ष दोधारा र त्यसअघि बेलौरीमा । दुबै ठाउमा भारतीय जङ्गलबाट आएका बाघले आक्रमण गरेर ज्यान गएको हो । शुक्लाफाटाका बाघको घनत्व बढी भएपनी अहिलेसम्म बस्ती छिरेर आक्रमण गरेको देखिँदैन ।