साताको तेस्रो कारोबारी दिन मंगलबार सेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१.४९ अंकले उकालो लागेर ३ हजार २.८० बिन्दुमा पुगेको हो। यो वृद्धिले बजार १.०५ प्रतिशतले माथि उठेको संकेत गर्छ।
लगातार केही दिनको कमजोरीपछि बजारमा सकारात्मक सुधार देखिए पनि आजको प्रमुख संकेत भने कारोबारी रकम अघिल्लो दिनको तुलनामा घटेको छ। आज कुल ३२१ कम्पनीका ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर किनबेच भएका छन्, जसबाट कुल १८ अर्ब ५२ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
हिजो सोमबारको तुलनामा यो कारोबार रकम घटेको हो। सोमबार ४ करोड ४१ लाख कित्ता सेयर खरिदबिक्री भई १९ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको थियो।
उद्योगगत रूपमा हेर्दा आज विकास बैंक र फाइनान्स समूहबाहेक सबै समूह हरियालीमा देखिए। अन्य समूहमा २.६९ प्रतिशतको उल्लेखनीय वृद्धि देखिएको छ। त्यस्तै, माइक्रोफाइनान्स समूह १.५७ प्रतिशत, बैंकिङ १.१४ प्रतिशत, लगानी समूह १.०९ प्रतिशत, र निर्जीवन बीमा समूह १.०८ प्रतिशतले वृद्धि भएका छन्।