रामेछापको तिल्पुङ–धोबी सडकको निर्माण काम नसकिँदै भत्किन थालेपछि स्थानीयमा आक्रोश फैलिएको छ। लिखु तामाकोसी गाउँपालिका–७ स्थित तिल्पुङ ढ्याङ्ग्रेको घुम्तीदेखि कटहरे घुम्तीसम्मको सडकमा ठेक्का सम्झौतासम्म पुग्नुपर्ने काम अधुरो रहनु स्थानीयका लागि समस्याको कारण बनेको छ।
पूर्वाधार विकास कार्यालय मन्थलीमार्फत श्री गौरीशङ्कर÷रुपाकाली जेभी काठमाडौंले २०८० असार १८ गते ठेक्का सम्झौता गरेको यो सडकको निर्माणमा पिचको काम पूरा नहुँदै अधिकांश स्थानमा उक्किएको छ र टालटुल पारेर भुक्तानी लिइएको स्थानीय आरोप छ।
सडकको निर्माणका लागि ठेक्का १२ करोड ६४ लाख ५४ हजार २ सय ३३ रुपैयाँमा गरिएको थियो, र यसअन्तर्गत सडक विस्तार, टेवापर्खाल र पिचको काम हुने थियो। तर, निर्माण कार्यको गुणस्तरमा ठूलो प्रश्न उठेको छ।
स्थानीय मिनुका आले मगरले भने, “पहिला हालेको पिच ठाउँ ठाउँमा भत्कियो, पछि फेरि टालटुल पारेर गए, आँखामा छारो हाल्ने काम मात्र भयो।” उनले पहिरो झरेको र कतिपय ठाउँमा सडक नै खसिएको जानकारी दिइन्। सडक निर्माणमा आवश्यक संरक्षण पर्खाल नलगाउँदा गाउँ बग्ने जोखिममा परेको उनीहरूको गुनासो छ।
वडा अध्यक्ष कल्पना पाण्डेले भने, “पहिरो नियन्त्रणको लागि न निर्माण व्यवसायीले ध्यान दिएको छ न कार्यालयले नै चासो देखाएको छ। निरन्तर पहिरोको कारण १५ घरको बस्ती बग्ने अवस्थामा पुगेको छ।”
सडकका केही हिस्सामा गरिएको ग्याभिनवाल र पिसिसी वालसमेत भत्किएका छन् जसले घर र सडकलाई जोखिममा पारेको छ। सरोकारवालाहरूको बेवास्ताले निर्माण कार्यलाई प्रभावित गरेको र लापरवाहीका कारण सडक गुणस्तरीय बन्न नसकेको स्थानीयहरूका भनाइहरू छन्।
तिल्पुङका वडा सदस्य सरोज आलेले भने, “हामीले पटक पटक भने पनि हाम्रो कुरा सुनिएको छैन।” निर्माण व्यवसायीको साइड इञ्चार्ज विक्रम बुढाथोकीको फोन स्विच अफ भए पछि प्राविधिक सुदीप कार्कीले पनि पछिल्लो चरणको काम आफूले नहेरेको बताएका छन्।