व्यवसायीहरुलाई एमआरपी भएका सामान मात्र विक्री गर्न सुझाव

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालले व्यवसायीहरुलाई अधिकतम खुद्रा मूल्य (एमआरपी) भएका सामान मात्र विक्री गर्न सुझाव दिएका छन् ।

आइतबार ललितपुर उद्योग संघले आयोजना गरेको व्यवसायिक सचेनता गोष्ठीमा बोल्दै उनले व्यापारी र उद्योगपतिलाई एमआरपी लगाउने अधिकार रहेको भन्दै एमआरपी लगाएका बस्तुमात्र विक्री गर्न सुझाव दिएका हुन् ।

उनले भने, ‘एमआरपी अधिकतम खुद्रा मूल्य व्यापारी र उद्योगपति खुद्रा विक्रेता अथवा आयातकर्ता दुईवटाले मात्र एमआरपी लगाउन पाउँछन् । किनभने उनीहरुलाई त्यो अधिकार छ । आयातकर्ताको आयातित सामान र उद्योगीको उद्योगहरुमा उनीहरुको ट्रेडमार्ग हुन्छ ।’ उनल थप भने,‘ आफ्नो अधिकार हुन्छ । लगानी गरेका हुन्छन् । डिलर र खुद्रा विक्रेतालाई एमआरपी लगाउन भन्दैनौँ तर व्यवसायीहरुले एमआरपी लगाएका बस्तुमात्र विक्री गर्नुपर्छ । अन्यथा त्यो वस्तुलाई शंका गर्छौँ कतै यो वस्तु चोरीको त हैन ।’

उनले नेपालको ७० प्रतिशत अर्थतन्त्र अनौपचारिक बजारमा रमाइरहेकाले एमआरपीको विरोध भईरहेको भन्दै यसलाई लागू गर्न सके मात्र देशको अर्थतन्त्र तीन गुणाले बढ्ने बताए ।

‘अहिले ७० प्रतिशत अर्थतन्त्र अनौपचारिक हो । हामी त्यसैमा रमाइरहेका छौँ । त्यसैकारण हामी नीतिको विरोध गर्छौँ । एमआरपीको विरोध गर्छाँै । बिल, बिजक दिदैनाँै । सबैले हैन कसैकसैले दिँदैनन् । त्यसलाई न्यूनिकरण गर्न खोजेको हो । यदि एमआरपी लगाइयो र सबैले बिल, बिजक दिने हो भने देशको अर्थतन्त्र तीन गुणाले बढ्छ,’ उनले भने ।

यसैगरी राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जनले व्यापारिक कारोबार गर्ने व्यवसायिहरुलाई कानुनको दायरामा ल्याउने काम स्थानीय तहको रहेको भन्दै सबै व्यवसायलाइ दर्ता प्रक्रियामा ल्याउन अनुरोध गरे ।

‘दर्ता नभएका दुकान,प्रतिष्ठान अथवा अन्य व्यापारिक कारोबार गर्ने व्यवसायिहरुलाई कानुनको दायरामा ल्याउने, दर्ता प्रक्रियामा ल्याउने काम स्थानीय तह वा नगरपालिकाको हो ।

उद्योग वाणिज्य संघ मार्फत मैले भनेको छु, अब व्यवसायिहरुलाई दर्ता प्रक्रियामा ल्यानुस्,जोडिनुस् । यसमा नगरपालिकाहरु सजक र सचेत हुनुहोस्,’ उनले भने ।