पब्जी मोबाइल विश्वकपमा नेपाली टोली होराले पायो, डेढ करोडभन्दा बढी रकम

नेपाली पब्जी टिम होरा इस्पोर्ट्स साउदी अरेबियामा जारी इस्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा नवौं स्थान हासिल गर्न सफल भएको छ ।

फाइनलको अन्तिम दिनको अन्तिम खेलमा चिकन डिनर जितेको होराले समग्रमा १८ खेलमा १०० अंकसहित नवौं भएको हो ।

यस जितसँगै होराले ग्रुप स्टेजको २७ हजार ५०० डलर, सर्भाइभल स्टेजको २५ हजार डलर, शो म्याचको १५ हजार डलर र फाइनलको नवौं स्थानको ६० हजार डलर गरी कुल १ लाख २७ हजार ५०० अमेरिकी डलर पुरस्कार जितेको छ ।

यो रकम आजको दरअनुसार १ करोड ७८ लाख ९७ हजार १७५ नेपाली रुपैयाँ हुन आउँछ ।

गत शुक्रबारदेखि आइतबारसम्म भएको लिग स्टेजको खेलमा होरा इस्पोर्ट्स समग्रमा १३औं भएपछि सिधै ग्राण्ड फाइनलमा पुग्न सकेको थिएन ।

लिग चरणमा शीर्ष ८ मा नपरेपछि सर्भाइभल स्टेजमा प्रतिस्पर्धा गरेको होरा सर्भाइभल स्टेज जितेर फाइनलमा पुगेको थियो । सर्भाइभल स्टेजको शीर्ष ८ मा रहने टोली फाइनल स्टेजमा पुग्ने प्रावधान थियो ।

सर्भाइभल स्टेजमा होराले १२ खेलमा २ चिकेन डिनरसहित कुल १०८ अंक जोड्यो । योसँगै होराले २५ हजार डलर पनि जितेको छ ।

लिग स्टेजमा १३औं भएको होराले उक्त पोजिसनको पनि २७ हजार ५०० डलर पुरस्कार प्राप्त गर्‍यो ।