एक सातासम्म स्थगित भएको संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। आज सोमबार अपराह्न १ बजेका लागि बैठक तय भउको संघीय संसद् सचिवालयले जनाएको छ।
सभामुख देवराज घिमिरेले अन्तर व्यवस्थापिका संघ (आईपीयू) र संयुक्त राष्ट्रसंघद्वारा संयुक्त रूपमा जेनेभामा आयोजित सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएपछि आज संसद् बैठक बस्न लागेको हो। तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे ११ साउनमा जेनेभा प्रस्थान गरेका थिए। उनी आइतबार स्वदेश फर्किएका हुन्।
आजको बैठकमा संघिय संसद्का महासचिव ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ को सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची छ।
त्यसैगरी लेखा समितका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२औँ वार्षिक प्रतिवेदन, २०८२’ मा उल्लिखत सुझावहरु आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गर्नेछन्।
युवा तथा खेलकूलमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकूद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ।
त्यसैगरि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतालाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।