कक्षा १२ को नतिजा आज साँझ ५ बजेपछि सार्वजनिक हुने तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्ड स्रोतका अनुसार नतिजा प्रकाशनका लागि आज साँझ ५ बजे बोर्ड बैठक बस्ने छ, जसपछिनतिजा सार्वजनिक गरिनेछ।

हिजो आइतबार बोर्डले नतिजा प्रणालीको परीक्षण (डेमो टेस्ट) गरेको थियो। परीक्षण सफल भएपछि सबै आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी बोर्डले दिएको छ। यसपटक शिक्षक आन्दोलनका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको हो। सामान्यतया कक्षा १२ को नतिजा साउन १५ भित्र सार्वजनिक हुने समयसीमा तय गरिएको हुन्छ।

यस वर्षको कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाट सुरु भएको थियो। परीक्षा ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी ले दिएका थिए। बोर्डले नतिजा वेबसाइट, एसएमएस र मोबाइल एपमार्फत हेर्न सकिने व्यवस्था गर्ने तयारी गरेको छ। नतिजा प्रकाशित भएसँगै विद्यार्थीहरूले पुनः मूल्यांकनको लागि पनि आवेदन दिन सक्नेछन्। बोर्डले नतिजा पारदर्शी र त्रुटिरहित बनाउन विशेष ध्यान दिएको जनाएको छ।