२०४६ सालको जनआन्दोलनको चर्चित तस्वीरकी ‘पोष्टर गर्ल’ गणतन्त्रमा गम्भीर प्रकरणमा मुछिएकी छन् ।
तत्कालीन २२ वर्षीय विद्यार्थी नेतृ दुर्गा थापा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट युवालाई असुली गरी विदेश पठाउने गिरोहसँग जोडिएको आशंकामा छानबिनको दायरामा परेकी हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अधिकृतका रुपमा खटिएकी उनको संलग्नता खुल्ने आधारहरू उच्च सरकारी तहमा पुगेको थियो । त्यसपछि गृह प्रशासनले यस विषयमा गोप्य रुपमा छानबिन अघि बढाएको थियो ।
‘जाँच गर्दा सूचना आएजस्तो उहाँको केही कैफियत देखियो,’ मन्त्रालयका एक उच्च अधिकृतले भने, ‘त्यसपछि जिम्मेवारीबाट हटाएर विभागमा तानेका छौं ।’
थापाले भने आफूलाई बदनाम गराउनलाई यस्तो आरोप लगाइएको दाबी गरिन् ।
‘म एक महिनाअघि विमानस्थल जाने बित्तिकै तीर्थराज भट्टराई कारबाहीमा पर्नुभयो,’ उनले भनिन्, ‘पछि अर्का प्रमुख विष्णु कोइरालासँग मसहित केही साथीहरूको डिस्कस भयो,त्यसपछि सरुवा मागेर गएको थिएँ ।’
आफूले अध्यागमन विभागका नयाँ महानिर्देशकलाई समेत सबै विषय भनेर ‘फेरि विमानस्थल पठाउनु होला, म जान्न’ भनेको समेत उनले दाबी गरिन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ जेठमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छापा मारेर तत्कालीन विमानस्थल अध्यागमन प्रमुख तीर्थराज भट्टराईलाई पक्राउ गरेको थियो । मोबाइल जफत गरेर साँझ आयोगले उनलाई हाजिर जमानतमा छाडेको थियो ।
भट्टराई छानबिनमा परेपछि विमानस्थल अध्यागमनको नेतृत्वमा गृह प्रशासनले पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई पठाएको थियो ।
गृहका अधिकृतहरूका अनुसार, कोइराला विमानस्थल अध्यागमनको नेतृत्वमा रहेका बेला समेत भिजिट भिसा असुली गरेर युवालाई विदेश पठाउने क्रम रोकिएको थिएन । यसबारे अनलाइनखबरले समेत प्रमाणसहित रिपोर्टिङ गरेको थियो ।
त्यही बीचमा उच्च सरकारी नेतृत्वसम्म दुबई र नेपालको गरी दुईवटा मोबाइल नम्बरसँगै ‘भिजिट भिसामा पठाउने’ भन्दै भएको संवादको स्क्रीनसट पुगेको थियो । त्यो सूचना गृह प्रशासनसम्म पुगेपछि प्रहरीलाई गोप्य छानबिन गराइएको स्रोतको दाबी छ । त्यसक्रममा दूबईको सम्पर्क नम्बर र नेपाली नम्बरको विवरणमाथि छानबिन भएको थियो ।
मन्त्रालय स्रोतका अनुसार, त्यसरी उपलब्ध नेपाली नम्बर सिराहाको एक व्यक्तिको नाममा दर्ता भएको पाइएको थियो भने दुबईको नम्बरको ह्वाट्स एप विमानस्थलबाटै चलिरहेको खुलेको थियो । स्रोतका अनुसार, मोबाइल नम्बर दर्ता गर्ने व्यक्तिसँग बुझ्दा उनलाई त्यसबारे केही थाहा थिएन भने त्यो नम्बरको लोकेसन पनि काठमाडौंमै देखिएको थियो ।
‘दुवै नम्बर विमानस्थलमा चलिरहेको थाहा भएपछि गोप्य जाँच गर्दा अधिकृत थापा नै त्यसमा संलग्न रहेको देखियो’, स्रोतले अनलाइनखबरसँग भन्यो, ‘त्यही अनुसार गृहमा रिपोर्टिङ भएपछि उहाँलाई जिम्मेवारीबाट हटाइएको थियो ।’
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले समेत उनलाई जिम्मेवारीबाट हटाइएको पुष्टि गरेका छन् । तर, अन्य कुरा आफूलाई थाहा नभएको बताए ।
‘म आउनुभन्दा पहिल्यै जिम्मेवारीबाट हटाइएको हो, त्यसैले त्यसबारे मलाई धेरै थाहा छैन,’ तिवारीले अनलाइनखबरसँग भने, ‘म हाजिर भएको एकसाताजति भयो, अहिले यस्तो कुरामा शून्य सहनशीलताको नीति अपनाएर काम भइरहेको छ ।’
स्रोतका अनुसार, थापासँगै शम्भु ठगुन्ना नामका अधिकृत समेत जिम्मेवारीबाट हटाइएका थिए । तिवारी आएपछि पनि थप दुईजना अधिकृतको जिम्मेवारी खोसिएको छ ।
‘मेरो पालामा दुईजनालाई केही विषयमा शंका लागेर तानेको छु, तर त्यसमा भन्न सकिने खाल्को केही आधार फेला परिसकेको छैन’, उनले भने, ‘यसमा कसरी सुधार गर्ने भनेर अहिले हामीले काम गरिरहेका छौं ।’
अनलाइनखबरबाट साभार