सप्तरीमा प्रहरीले प्रहार गरेको गोली लागेर एकजनाको मृत्यु भएको छ।
गएराति राजगढ गाउँपालिका( २ कमलपुरमा प्रहरीले चलाएको गोली लागेर मदिरामा तस्करीमा संलग्न एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
मंगलबार राति मदिरा तस्करी रोक्नका लागि खटिएका प्रहरी र स्थानीयबीच झडप हुँदा गोली चलाउनु परेको प्रहरीले जनाएको छ। गोली लागेर स्थानीय ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो।
गोली लागेर गम्भीर घाइते भएका यादवको उपचारको क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।
झडपमा एक प्रहरी पनि घाइते भएका छन्। त्यसक्रममा भारततर्फ तस्करी गर्न लागिएको केही कार्टुन मदिरा समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।