भारतमा भएको म्याट्रिक्स फाइट नाइट टाइटल विजेता रविन्द्र ढाँटको सम्मानमा राष्ट्रपति भवन शीतल निवासमा भएको स्वागत कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले देशलाई विश्वभर चिनाउने खेल क्षेत्रको विकास एवं खेलाडीको सम्मान गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ ।
राष्ट्रपति पौडेलले खेलाडीको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।
राष्ट्रपति पौडेलले भन्नुभयो, ‘देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै हाम्रा खेलाडीले कीर्तिमान र सफलता हासिल गर्न सक्दछन् ।’
राष्ट्रपति पौडेलले व्यक्तिको शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासमा खेलको महत्व रहेको बताउँदै थप्नुभयो, ‘खेल क्षेत्रको विकासमा सरकार, खेलसँग सम्बन्धित संस्था र निकायले आगामी दिनमा अझै प्रभावकारी ढङ्गले काम गर्न क्रियाशील हुने विश्वास लिएको छु ।’
राष्ट्रपति पौडेलले बझाङको बाघ भनेर परिचित नेपाली एमएमए फाइटर रविन्द्रले आफ्नो खेल कौशल, सामर्थ्य, शक्ति र खेलप्रतिको अगाध समर्पणले यो उपाधि जित्न सफल हुनु नेपालीको लागि गौरवको विषय भएको बताउनुभयो। राष्ट्रपति पौडेलले डाँटको सफलताका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
एमएमए फाइटर रविन्द्रले शनिवार भारतका चुङरेङ कोरेनलाई तेस्रो राउन्डमा नकआउट गरेका थिए । व्यावसायिक फाइटमा रविन्द्रको रेकर्ड ८-१ रहेको छ ।