सफल किसानका कथा ओझेलमा पार्न नदिनुहोस् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको रत्ननगर नगरपालिका–१५ माधवपुरका कृषक चेतप्रसाद ढकालको गाई पालन व्यवसायबाट प्राप्त सफलताको चर्चा गर्दै यस्ता सकारात्मक उदाहरणलाई प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

आज बिहान फेसबुकमार्फत सन्देश सार्वजनिक गर्दै हाल सामाजिक सञ्जालमा नकारात्मकता फैलाउने भिडियो, मीम र पोष्टरहरूप्रति चिन्ता व्यक्त गर्दै उहाले यस्ता सामग्रीहरूले प्रेरणादायी कथाहरूलाई ओझेलमा पार्ने खतरा रहेको बताउनुभएको हो ।

फेसबुकमा ‘शुभ बिहानी’ भन्दै सुरु गरिएको सन्देशमा प्रधानमन्त्री ओलीले चेतप्रसाद ढकालले १६० वटा गाई पालेर दैनिक ८०० देखि १,४०० लिटरसम्म दूध बिक्री गर्दै आएको र ढकालसहित १४ जना किसानलाई असार १० गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सम्मान गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस्ता उदाहरणहरु राष्ट्रका लागि प्रेरणाको स्रोत हुने बताउनुभयो ।

प्रधानमन्त्रीले हाल सामाजिक सञ्जालमा नकारात्मकता फैलाउने भिडियो, मीम र पोष्टरहरूप्रति चिन्ता व्यक्त गर्दै यस्ता सामग्रीहरूले प्रेरणादायी कथाहरूलाई ओझेलमा पार्ने खतरा रहेको बताउनुभयो । ‘हामी जे सुन्छौं, हेर्छौं र गर्छौं – आफू पनि त्यस्तै हुँदै जान्छौं ।’ ओलीले सकारात्मक सन्देश फैलाउन आग्रह गर्नुभयो ।

चेतप्रसाद ढकाललाई बधाई दिँदै प्रधानमन्त्री ओलीले सबैको जय होस् भन्ने शुभकामनासहित सकारात्मक सोच र कार्यको समर्थन गर्न आमजनसमक्ष अपील गर्नुभयो ।