नेपाल नर्दन टेरिटोरीसँग ४२ रनले पराजित

  • Clock icon
    २०८२ श्रावण ३०, शुक्रबार

अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपाल घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको छ।

नर्दन टेरिटोरीबाट १७८ रनको लक्ष्य पाएको नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रनमा समेटिएको हो। ओपनर नचल्दा नेपालले मध्यम लक्ष्य भेटाउन सकेन। नेपालका ओपनर कुसल भुर्तेल ८ र आसिफ शेख ११ रनमा आउट भए। लोकेश बमले रनको खाता नै खोल्न सकेनन्।

रोहित पौडेल २३ र कुशल मल्ल ३४ रन बनाएर आउट भए। दीपेन्द्र सिंह ऐरीले १९ र गुल्शन झाले २६ रन बनाए। सोमपाल कामी १ रनमै आउट हुँदा रुपेश सिंह ८ र सन्दीप लामिछाने २ रनमा नटआउट रहे।

थोमस एन्ड्रयुज र केन रिचडेसन २ तथा म्याट ह्यामन्डले ३ विकेट लिए। हमिस मार्टिनले एक विकेट हात पारे।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नर्दन टेरिटोरीले २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन बनाएको थियो।

नर्दन टेरिटोरीका लागि ओपनर डिआर्सी सर्टले सर्वाधिक ५१ रन बनाए। ३४ बलमा ७ चौका र एक छक्का प्रहार गरेका उनलाई सन्दीप लामिछानेले बोल्ड गरे।

त्यसअघि अर्का ओपनर ज्याकव डिकमानलाई ११ रन बनाउँदा रुपेश सिंहले क्याचआउट गराएका थिए।

कोनर क्यारोल १८, जोर्डन सिल्क १९, थोमस एन्ड्रयूजले ३२ र क्याडेल म्याकमोहनले १२ रनको योगदान गरे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिँदा साहव आलमले २ विकेट लिए। रुपेश सिंह, दीपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेलले समान एक विकेट हात पारे।

 

  • Clock icon
    २०८२ श्रावण ३०, शुक्रबार