नाडा अटोमार्फत ४० प्रतिशत सवारी बिक्री

काठमाडौंमा आजदेखि सुरु भएको १७औं संस्करणको ‘नाडा अटो शो–२०२५’ को उद्घाटन कार्यक्रममा नाडा अटोमोबाइल्स् एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले नेपालमा बिक्री हुने करिब ४० प्रतिशत सवारी साधन नाडा अटोमार्फत बुकिङ हुने दाबी गरेका छन्।

उनका अनुसार अटो शो केवल प्रदर्शनी नभई व्यवसाय, रोजगारी र राजस्व वृद्धिको महत्त्वपूर्ण थलो बनेको छ। चौधरीले भने, “यो शोले रोजगारी सिर्जना गरेको छ, राजश्व बढाएको छ र नेपालमा मोटर व्यवसायलाई औपचारिक ढंगले अघि बढाएको छ।”

एसेम्बलिङ र उत्पादनमा जोड

अध्यक्ष चौधरीले नेपालमा सवारीसाधन एसेम्बलिङ आवश्यक रहेको उल्लेख गर्दै त्यसमा नाडाले निरन्तर जोड दिइरहेको बताए। उनले पार्टपुर्जा समेत स्थानीय स्तरमै उत्पादन गर्न सकिने वातावरण बन्यो भने त्यसले उद्योगलाई अझ मजबुत बनाउने धारणा राखे।

युवा पलायन रोक्न भूमिका

उनले बढ्दो युवा पलायनलाई रोक्न सीप र रोजगारी सुनिश्चित गर्न नाडाले योगदान दिइरहेको दाबी गरे। “युवा जनशक्तिलाई जिम्मेवारीपूर्ण भूमिकामा ल्याउन आवश्यक छ। नाडाले यसतर्फ ठोस प्रयास गरेको छ,” उनले भने।

सरकारसँग सहकार्य

उनले नाडाले केवल आलोचना मात्र नगरी सरकारका कामलाई सहयोग र प्रोत्साहन गर्दै आएको बताए। नीतिगत स्तरमा समेत सरकारलाई सुझाव दिँदै आएको उल्लेख गर्दै उनले भने, “नाडा अझ सशक्त बने सरकारसँगै अघि बढ्न चाहन्छ।”

औपचारिक ट्रेडको प्रतिनिधि

चौधरीका अनुसार नाडा हाल नेपालका ९० प्रतिशतभन्दा बढी औपचारिक अटोमोबाइल ट्रेडलाई प्रतिनिधित्व गर्छ। यस कारण नाडा अटो शो केवल प्रदर्शनी मात्र नभई गौरवको विषय भएको उनको भनाइ छ।

भृकुटीमण्डपमा सुरु भएको अटो शोमा नयाँ प्रविधि र भविष्यका मोबिलिटी समाधानहरूको प्रदर्शन भइरहेको छ भने आम नागरिकको सहभागिता पनि उत्साहजनक देखिएको छ।