नेपाल शिक्षक महासङ्घले आफ्ना माग सम्बोधन नभएको भन्दै थप कडा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। महासङ्घले शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अबको आन्दोलन विगतको भन्दा सशक्त र दबाबपूर्ण हुने चेतावनी दिएको छ।
महासङ्घका अनुसार भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइनेछ। त्यसपछि भदौ ११ देखि २० सम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहाँ २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम तय गरिएको छ।
त्यसैगरी भदौ १३ मा सबै पालिकामा र भदौ १५ मा सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिने तयारी छ।
महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार भदौ २१ बाट दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिनेछन्, जसमा अवधारणात्मक विरोध प्रदर्शन लगायत थप कडा कार्यक्रमहरू सञ्चालन हुनेछन्। उनले सरकारसँग भएको २७ बुँदे सहमति बटमलाइन भएको र सरकारले माग पुरा नगरेको दाबी गरे।