सुकुना क्याम्पसमा स्ववियू अध्यक्षको मनोमानीविरुद्ध विद्यार्थी आक्रोशित

विराटनगर । शिक्षा आर्जन गर्ने क्याम्पसहरु नेता उत्पादन गर्ने थलो बनिरहेको छ । राजनीतिक संघ संगठनहरुमार्फत क्याम्पसमा गतिविधिहरु पनि भइरहेका छन् । तर पछिल्लो समय तिनै संगठनका नेताहरुको कायैशैलीप्रति विद्यार्थी वा जनतामा चरम असन्तुष्टि बढ्दो छ । क्याम्समा समेत विद्यार्थी संगठनका तर्फबाट निर्वाचित पदाधिकारीले अनियमितता गर्ने गरेको पाइएको छ ।

मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपलिकामा रहेको कोशी प्रदेशकै उत्कृष्ट मानिएको सामुदायिक सुकुना क्यापसमा स्ववियुका अध्यक्ष एलिस ओझाले आफ्नो संगठनका लागि स्ववियूको रकम अनियमितता गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।एमाले निकट अनेरास्ववियुबाट स्ववियुमा विजयी भएका उनीमाथि आर्थिक अनियमितता गरेको आरोप गम्भीर रुपमा उठेको छ ।

पार्टीको भातृ संगठनको गत जेठ २५ देखि २७ गतेसम्म काठमाडौंमा भएको २४ औं राष्ट्रिय महाधिवेशनको खर्चका लागि अध्यक्ष ओझाले क्याम्पसमार्फत स्ववियूका नाममा २० हजार रुपैयाँ निकासा गराएको पाइएपछि क्याम्पसमा विवाद समेत बढेको छ ।

‘संगठनको महाधिवेशनका लागि स्ववियूमा अनेरास्ववियुबाट निर्वाचित विद्यार्थीहरुको प्रतिनिधित्व गराउनका लागि रकम आवश्यक परेको हुनाले स्ववियूकै कोषबाट २० हजार सहयोग गरिदिनुहुनका लागि अनुरोध गरिन्छ,’ अध्यक्ष ओझाले हस्ताक्षर गरेर क्याम्पस प्रमुखलाई दिएको निवेदनमा उल्लेख गरिएको छ । उक्त पत्रलाई आधार बनाएर विद्यार्थीहरुले प्रश्न उठाएका छन् ।

सोही निवेदनको आधारमा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले तोक लगाई लेखा शाखाबाट निकासा समेत भएको देखिन्छ । क्याम्पु प्रमुख अधिकारीले सभापति ओझाको नाममा रकम निकासा गराइएको उल्लेख समेत गरेका छन् ।नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको २४औँ महाधिवेशनको प्रधानमन्त्रीसमेत रहेका एमालेका केपी शर्मा ओलीले जेठ २५ गते उद्घाटन गरेका थिए । जुन कार्यक्रममा सहभागी हुनका लागि स्ववियूको रकम निकासा भएपछि यतिबेला अन्य विद्यार्थी संगठन आन्दोलित बनेका छन् ।

नेविसंघ सुकुना बहुमुखी क्याम्पसका इकाई सभापति विजय ओझा भन्छन्,‘पार्टीको अध्यक्षको भाषण सुन्नका लागि जसरी स्ववियू कोषबाट पैसा खर्च गरिएको छ । यो व्यक्तिगत अनियमितता मात्रै होइन सम्पूर्ण विद्यार्थीले तिरेको पैसामाथि खेलवाड समेत हो ।’ नेविसंघ सभापति ओझाले अनियमिता विरुद्ध आन्दोलनमा होमिने समेत जनाएका छन् ।

क्याम्पसमा तालालबन्दी
स्ववियुका अध्यक्ष ओझाले गरेको अनियमितताप्रति आपत्ति जनाउँदै स्ववियूका पदाधिकारीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन् ।स्ववियुकै सचिव रोहन खत्री (डियर काले), कोषाध्यक्ष सविना थापा, सहायक सचिव होमबहादुर पौडेलसहित १२ जना सदस्यले संयुक्त विज्ञप्ति जारी गर्दै अध्यक्ष ओझाले २४ औं महाधिवेशनका क्रममा विद्यार्थीको नाममा संचित २० हजार रुपैयाँ व्यक्तिगत स्वार्थमा प्रयोग गरेको तथ्य सार्वजनिक भएको बताएका हुन् ।

उनीहरुले बहुमत सदस्यको हस्ताक्षरसहित स्ववियूकै पदाधिकारीहरुले क्याम्पस प्रमुख अर्जुनराज अधिकारीको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन् ।
उनीहरुले जारी गरेको विज्ञप्ति भनिएको छ, ‘विद्यार्थीका नाममा संचित रकम विद्यार्थी नै वञ्चित हुनेगरी व्यक्तिगत रूपमा दुरुपयोग हुनु स्ववियुको मूल्य–मान्यता र विद्यार्थी आन्दोलनको उपलब्धिमाथि आघात हो ।’

स्ववियु बहुमत सदस्यहरूले अध्यक्षको एकल निर्णय र मनपरी व्यवहारले संस्थाको पारदर्शिता र विश्वसनीयतामा प्रश्न उठाएको उल्लेख गरेका छन् ।
उनीहरूले पाँचबुँदे मागसमेत राखेका छन्, जसअनुसार अध्यक्षले २४ घण्टाभित्र सम्पूर्ण आर्थिक विवरण सार्वजनिक गर्नुपर्ने, क्याम्पस प्रशासनले रकम निकासा किन गरिएको हो भन्ने लिखित जवाफ दिनुपर्ने र छानबिन समिति गठन गरी कारबाही अघि बढाउनुपर्ने माग गरिएको छ ।