बदलियो तीज मनाउने शैली, उत्साहित देखिए महिला संचारकर्मी

पछिल्ला वर्षहरूमा तीज मनाउने तौरतरिका बदलिएको छ ।

उत्साहका नाममा भड्किलो शैली भित्रिएको छ ।

दर खाने र नाचगान गर्ने संस्कृति महिलाबीच मात्र नभई विभिन्न पेशागत समूहमा समेत फैलिएको छ ।

उत्साहित देखिए महिला संचारकर्मी ।

यसै क्रममा महिला पत्रकारहरूले पनि आफ्नै बीचमा तीजको विशेष कार्यक्रम आयोजना गर्दै रमाइलो गर्ने, गीत बजाएर नाच्ने र दर खाने परम्परालाई आधुनिक शैलीमा आत्मसात गर्ने गरेका छन् । यसले तीजलाई केवल धार्मिक वा सांस्कृतिक पर्व मात्र नभई महिला एकता, उत्साह र साझा भेटघाटको अवसरका रूपमा स्थापित गरिदिएको छ ।
प्रेस चौतारी नेपालले महिला पत्रकारहरुमाझ तीज विशेष कार्यक्रम बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा आयोजना गर्दा त्यस्तै एकता देखियो । कार्यक्रममा विभिन्न मिडियामा आवद्ध महिला पत्रकारहरुसहित अतिथिहरुले एकताको सन्देश दिए ।

कार्यक्रममा सहभागी महिला पत्रकारहरु परम्परागत ढंगले दर खाने, तीजका गीतमा रमाइलो गर्ने, नाच्ने–गाउने, फोटो तथा भिडियो खिच्दै व्यस्त देखिन्थे । परम्परागत रूपमा तीज महिलाहरुको दुःख–सुख पोख्ने, मन हल्का बनाउने चाडका रूपमा मनाइने चलन भएपनि अहिले आधुनिक गीत–संगीत, नयाँ सोच र फरक शैलीमा तीज मनाउने प्रचलन बढेको सहभागीहरुले बताए ।

नेपाल पत्रकार महासंघकी महिला उपाध्यक्ष अम्बिका दाहालले विगत र वर्तमानबीचको तुलना गर्दै भनिन्,‘पहिला त महिलाहरु घरको काममै सीमित थिए, माइती जान पाउँदैनथे । तर अहिले तीजमा दर खान भनेर स्वतन्त्र रूपमा माइती घर जान पाउँछौं, यो हाम्रो स्वतन्त्रताको प्रतीक हो । गरगहना भन्दापनि मनबाट खुसी हुनु नै असली तीजको महत्व हो ।’
कार्यक्रममा रातो साडीमा सहभागी भएकी महिला पत्रकार पार्वती वानियाँले तीजलाई दिदी बहिनीबीचको भेटघाट र दुःख–सुख साट्ने चाडका रूपमा व्याख्या गरिन् । ‘गरगहना नभएकाले तीज नमान्ने भन्ने सोच गलत हो । जसले जे छ त्यसैमा खुसी मान्न सकिन्छ,’ उनले भनिन् ।

प्रेस चौतारी नेपाल उपत्यका प्रदेशकी अध्यक्ष सीता पौडेल (अर्चना)ले तीजलाई केवल रमाइलो मात्र नभई ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको चाड बताइन ।
त्यस्तै, कवि एवम संचारकर्मी बिमला तुम्खेवाले तीजले महिला–महिलाबीच सम्बन्ध नजिक ल्याउने भएकाले यसलाई सकारात्मक ढंगले अघि बढाउनुपर्ने धारणा राखिन । प्रेस चौतारीकी केन्द्रीय सदस्य सरस्वती वानियाँले तीज छोरी–चेलीलाई माइतीसँग जोड्ने माध्यम भएको बताउँदै यसलाई भड्किलो बनाउनुभन्दा सक्रिय ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिइन ।

एमाले नेतृ पूर्णशोभा चित्रकारले तीजको उत्पत्ति पौराणिक रूपमा पार्वतीले भगवान शिवलाई पाउन तपस्या गरेको कथासँग जोडिएको भन्दै आधुनिक समयमा पनि यसलाई आफ्नो–आफ्नो ढंगले मनाउन सकिने बताइन् ।