साउनदेखि भदौसम्म नेपालमा अटोमोबाइल्स प्रेमीहरूका लागि दुईवटा प्रमुख कार्यक्रमले उपभोक्ताको ध्यान आकर्षित गरेका छन्। साउन २१–२६ गते आयोजना भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ र भदौ ३–८ गते सम्पन्न ‘नाडा अटो शो २०२५’ले यस वर्ष दशैँ–तिहार लक्षित विभिन्न अफरहरू उपलब्ध गराएका छन्।
नाइमा नेपाल मोबिलिटी एक्स्पो पहिलोपटक नेपालमा आयोजना गरिएको कार्यक्रम हो। साउन २१ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका थिए। एक्स्पोमा विशेष व्यवस्थापनका कारण ह्वीलचेयर प्रयोगकर्ताहरू समेत सहज पहुँच पाएका थिए। पार्किङ तथा टिकट व्यवस्था सरल बनाइएको थियो भने राइड सेयरिङ सेवाले ३० प्रतिशतसम्म छुट उपलब्ध गराएको थियो। एक्स्पोमा ५० ब्राण्डका ४८ स्टल राखिएका थिए र Jaecoo J5, Leapmotor B10, Maxus MIFA 7, Mazda CX60, KTM Adventure Series, Ather Rizta जस्ता नयाँ मोडल सार्वजनिक गरिएका थिए। पहिलोपटक आयोजना भए पनि एक्स्पोमा १ लाखभन्दा बढी दर्शक सहभागी भए।
त्यसपछि भदौ ३ देखि ८ गतेसम्म १७औँ संस्करणको नाडा अटो शो ‘Go For More’ थिममा सम्पन्न भएको थियो। अटो शोमा १२५ स्टल राखिएका थिए र Deepal eVTOL Flying Taxi, UNITREE G1 & G01 रोबोट, BYD Atto 2, Suzuki eVitara, JSW Sherp SMV 1200, Hero Xpulse 210, Geely Galaxy E5 जस्ता मोडलहरू प्रदर्शन भएका थिए। पहिलोपटक नेपालमा प्रदर्शन भएको Deepal eVTOL Flying Taxi र humanoid/robot dog मुख्य आकर्षण बने।
नाडा अटो शोमा १ लाख ७६ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका थिए। अन्तर्राष्ट्रिय पाभिलियन, मेड इन नेपाल पाभिलियन, कार्यशाला, प्यानल छलफल र भिन्टेज मोटर शो जस्ता कार्यक्रमहरूले शोको वैविध्य बढाएका थिए। मौसमले केही असुविधा भए पनि आयोजन स्थलमा प्रभाव न्यून पार्ने उपाय गरिएको थियो। तर पार्किङको चुनौती भने अझै कायम रहेको थियो।
यस वर्ष दुवै कार्यक्रमले उपभोक्तालाई नयाँ मोडल र प्रविधिको अनुभव दिने मात्र नभई अटोमोबाइल बजारमा नवप्रवर्तन र बिक्री प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको छ।