अष्ट्रेलियाली टोलीमाथि नेपालको ४१ रनको विजयी सुरुवात

अष्ट्रेलियाको भ्रमणमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीले अष्ट्रेलियन क्यापिटल टेरिटरी (ACT) विरुद्धको पहिलो अभ्यास खेलमा ४१ रनको जीत हात पारेको छ ।

मंगलबार बिहान टस जितेर ACT ले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको अवसर पायो । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७७ रनको योगफल तयार गर्‍यो ।

नेपालका ओपनर आसिफ शेखले आतिशी प्रहार गर्दै ३९ बलमा ६९ रनको अर्धशतकीय पारी खेले । कप्तान रोहित पौडेलले २८ बलमा २६ रन जोडे भने अरिफ शेखले १८ बलमा २४ रन योगदान गरे । अन्य ब्याट्सम्यान भने ठुलो स्कोर बनाउन नसके पनि नेपालले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्न सफल भयो ।

जवाफमा १७८ रनको लक्ष्य पछ्याएको ACT टोली १७.२ ओभरमै १३६ रनमा अलआउट भयो । यससँगै नेपालले ४१ रनको स्पष्ट जित दर्ता गर्‍यो ।

क्रिकेट एसोसिएसन अफ नेपाल (CAN) का अनुसार, नेपालले यही भ्रमणअन्तर्गत ACT र दक्षिण अष्ट्रेलियाविरुद्ध कुल चार टि–२० अभ्यास खेल खेल्नेछ । साथै, आगामी अगस्ट ३० मा दक्षिण अष्ट्रेलिया क्रिकेट टोलीसँग एकदिवसीय अभ्यास खेल पनि आयोजना हुनेछ ।

यो जितसँगै अष्ट्रेलिया भ्रमणमा नेपालको सुरुवात विजयी बनेको छ ।