राज्य व्यवस्था समिति सभापति निर्वाचनको तयारी पूरा, कांग्रेसले उम्मेदवार छान्ने

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयले आज मनोनयन दर्ता सुरु गर्दैछ । सचिवालयका सचिव हर्कराज राईले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता हुने व्यवस्था तोकेका छन् । मनोनयन दर्ता गर्न समितिका कुनै सदस्यले अर्को सदस्यको समर्थनमा प्रस्ताव पेश गर्न सक्ने व्यवस्था छ।

कार्यतालिकाअनुसार, दिउँसो ४:१५ बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ भने बुधबार दिउँसो ३ बजे समिति बैठक बसाएर नयाँ सभापति चयन गरिनेछ । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरी खतिवडाले साउन २८ गते सङ्घीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्थामा छेडखानी भएपछि नैतिकताका आधारमा राजीनामा दिएका थिए । सङ्घीय संसद नियमावली अनुसार रिक्त पद १५ दिनभित्र भर्ने व्यवस्था भएकाले बुधबार निर्वाचन गर्न लागिएको हो ।

समिति सभापति पद दलहरूबीचको भागबन्डामा नेपाली कांग्रेसको भागमा परेको छ । तर कांग्रेसले सभापतिको उम्मेदवार अझै तय गर्न सकेको छैन । त्यसका लागि पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बिहान ११ बजे शीर्ष नेताहरूको बैठक बोलाइएको छ, पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।