नेपाली होटल क्षेत्रको प्रतिस्पर्धी बजारमा होटल बाराहीले निरन्तर व्यावसायिक सफलता हासिल गरेको छ। होटलले ग्राहक सन्तुष्टिलाई मुख्य मन्त्रका रूपमा अघि सार्दै २०२५ मा ६५ करोड रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ।
बाराही समूहका अनुसार अघिल्लो वर्ष २०२४ मा ५३ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार भएको थियो भने २०२३ मा २२ करोड ९० लाख, २०२२ मा ११ करोड ७० लाख र २०२१ मा १ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो। यस आधारमा होटलको व्यापार वृद्धिदर उल्लेख्य रूपमा देखिएको छ।
पोखराको लेकसाइड, काठमाडौंको ठमेल र चितवनसम्म सेवा विस्तार गरेको बाराही होटल ‘नेपालमै उत्पादन, नेपाली स्वाद, अन्तर्राष्ट्रिय सेवा’ भन्ने नारासहित अघि बढिरहेको छ। होटल अध्यक्ष हरिप्रसाद पौडेलको नेतृत्वमा सञ्चालित यस होटलमा पौडेल परिवार प्रमुख लगानीकर्ता रहेका छन् भने केही सेयर ‘बाराही हाउजिङ एन्ड लिजिङ’को स्वामित्वमा छ।
हाल होटलको कोठा उपयोग दर (Occupancy Rate) करिब ७५ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ७८ प्रतिशत थियो। आम्दानीको मुख्य हिस्सा कोठा भाडाबाट आएको छ र यस्तो आम्दानी वार्षिक रूपमा ३१ प्रतिशतले बढेको होटलले जनाएको छ।
त्यस्तै, होटलले आफ्नो ऋण भुक्तानी क्षमताको मूल्यांकन इक्रा नेपालमार्फत गराउँदै १ अर्ब ३२ करोड रुपैयाँ बराबरको कर्जाको लागि रेटिङ पाएको छ। यसमा १ अर्ब २९ करोड दीर्घकालीन र ३ करोड अल्पकालीन कर्जा रहेको छ। इक्राका अनुसार अल्पकालीन कर्जामा ‘एनबिबी माइनस’ र दीर्घकालीन कर्जामा ‘एफोर’ रेटिङ प्राप्त भएको छ।
