धर्मराज युधिष्ठिरलाई स्वर्ग आउजाउमा कुनै रोकतोक थिएन । अमेरिकी ग्रीनकार्ड पाउनेले जस्तै सुविधा उपभोग गर्थे । यही अवसरको फाइदा उठाएर उनी बाक्लै स्वर्ग आतेजाते गरिरहन्थे । युधिष्ठिरले पाएको यो सुविधाको फाइदा वाहनको नाताले कुकुरले राम्रैसँग उठायो । युधिष्ठिर जतिपटक स्वर्ग उक्लिन्थे, कुकुर पछि लाग्थ्यो । स्वर्गीय सुविधा कुकुरमा मात्र सीमित भइदिएको भए केही थिएन, तर कुकुरको कानमा टाँसिएको किर्नो पनि संयोगले युधिष्ठिर सरह नै स्वर्ग जान्थ्यो ।
कुकुरको कान जाँच गर्ने कुरो आएन । आखिर सत्ता, शक्ति उहिले न अहिले त्यसको मूलभूत सार उही नै हो । गणतन्त्र ल्याएको दावी गर्ने माओवादी घमण्डको मूल्य युधिष्ठिरको आडमा स्वर्ग जाने कुकुर र किर्नोको हैसियतभन्दा माथि उठेन । गणतन्त्रले सबै दलका नेताहरूलाई पालैपालो सत्ताको सारथी बनायो । अनि तिनीहरूको आडमा सत्ताको स्वर्गीय आनन्द कतिले उठाए, त्यसको लेखाजोखा छैन । कुकुर त ठिकै हो । तर गणतन्त्रको राजमा किर्नोको दबदबा बेपत्तासँग बढ्यो ।
राणा शासनका किर्ना क्रान्तियोद्धामा सरे, क्रान्तियोद्धाहरू पञ्चायतमा लहसिए, पञ्चायतका घुनपुतली, उपियाँ बहुदलमा भित्रिए । राजा ज्ञानेन्द्रका जिउमा टाँसिएका सबै किर्ना अहिले बालुवाटार, बूढानीलकण्ठ र खुमलटार बसाइँ सरेका छन् । किर्नो त आखिर किर्नो हो । उसलाई न गणतन्त्र चाहिएको छ, न लोकतन्त्र । किर्नोको स्वार्थ हो– रगत चुस्नु । रगत नआउनेसँग उसको सङ्गत नै हुँदैन । दुईचार वर्षअघिसम्म सत्ता र शक्तिमा चोर बिरालोजस्तो राल चुहाउने तिनै पार्टी एण्ड कम्पनीहरू अहिले तिनै किर्नाहरूको बलमा खसी बजारमा बोका जोखेजस्तै मन्त्री, प्रधानमन्त्री जोखेर हिँड्दै छन् । आधा वर्षका करारका सरकार बनाइन्छन्, भत्काइन्छन् ।
अहिले कांग्रेसभित्र माओवादी, माओवादीभित्र कांग्रेस, एमालेभित्र माओवादी, माओवादीभित्र एमाले, माओवादीभित्र पञ्चे, पञ्चेभित्र गणतन्त्रवादी बग्रेल्ती छन् । हरेक पार्टीभित्रका नेता कोही चीन, कोही हिन्दुस्तान, कोही अमेरिकी, कोही युरोपियनदेखि उत्तर कोरियाली एजेन्टसम्म छन् । दारुरामभन्दा भारुरामहरूको गतिविधि बढ्दो छ । बीपी कोइराला ०७ सालताका दिक्क मान्दै भन्थे– ‘कांग्रेसको बैठकमा छलफल हुने बैठकको एजेण्डा मलाइ भन्दा पहिला मोहनशमशेरलाई थाहा हुन्छ ।’
उनले आफ्नो पुस्तकमा भनेका छन्– ‘मेरो दिमागमा धेरै वर्षदेखि एउटा कुरा छ– मैले हिन्दुस्तानसँग गएर के कुरा भन्ने रु हिन्दुस्तानका केही स्वार्थहरूको मैले सेवा गर्ने कि नगर्ने रु प्रजातन्त्रमाथिको समान आस्थाले हुँदो रहेनछ । मलाई प्रजातन्त्रवादी भएन भनेर त भन्ने छैनन् हिन्दुस्तानमा । हिन्दुस्तानका केही मूलभूत स्वार्थहरूको सेवा मैले गरेँ भने मात्र मलाई उनीहरूले समर्थन गर्नेछन् । त्यसको निम्ति पनि तयार भएँ रे भने पनि के मद्दत गर्छन् रु म त्यै जान्न खोजिरहेको छु ।’ बीपी अगाडि थप्छन्– ‘सुवर्णहरूलाई दिएको भन्दा बढी कुन नेतालाई दिल्लीले समर्थन देला रु सुवर्ण शमशेर दिल्लीको अनुकूल हुनसक्नु भयो होला, त्यति अनुकूल हुनसक्ने प्रजातान्त्रिक पक्षबाट मान्छे पाउने छैन दिल्लीले ।
सुवर्णजीप्रति दरबार अनुकूल हुन सकेन भने दरबारभन्दा बढी सुवर्णजी दिल्ली अनुकूल हुनुभयो । मैले दिल्लीसँग सम्बन्ध सुधार्न इन्दिरा गान्धीसँग गएर के भन्ने रु हेर्नुस् मलाई गलत नसम्झनुस् भन्ने रु म हिन्दुस्तानको हितको खिलाफ गर्दिन भन्ने रु त्यो त मैले छतबाट कराएर भनेको छु । उनीहरूका केही मूलभूत कुराहरू छन् , जो गराउन चाहिरहेका छन् । म के भन्छु भने मेरो राजनीतिले तिमीलाई मद्दतै पुर्याउँछ तर एजेण्टको राजनीतिले तिमीहरूलाई नोक्सान पुर्याउँछ ।’
आफ्नै सहकर्मीप्रति बीपीको नमिठो अनुभव दस्तावेज बनेरै दशकौँदेखि बसेको छ । मन्त्रीहरूले म्याकबुक पाएपछि त झन् सरकारको निर्णय सरकारी निकायमा सर्कुलर हुनुअघि क्याम्पहरूमा पुगिसकेको हुन्छ । सिंहदरबारकै जस्तो कुर्सी, घोडागाडी गाउँगाउँ पुग्यो, थिति पुगेन । गाउँलाई दरकार एउटा चीजको छ, योजना अर्को पर्छ । निर्वाचित जनप्रतिनिधिभन्दा असम्बन्धित व्यक्तिहरूको चलखेल डरलाग्दो देखिन्छ ।
जनप्रतिनिधिका नाममा करोडौँ रुपैयाँ जम्मा भएपछि ल्यापटपदेखि गाडी, सडक खन्ने मेसिनका दलालहरू कमिसनको प्याकेज लिएर गाउँगाउँ पुगेका छन् । ढुकुटी खर्च गर्न उनीहरू प्रतिस्पर्धामा उत्रिएका छन् । राजश्व उठाउने भन्दा खाजश्व बढाउने अभियान तीब्र छ । सत्य चाहिँ के हो भने यदि राजनीति पनि लोकसेवा पास गरेर आउनुपर्ने भएको भए निश्चित छ– अहिलेका अधिकांश जनप्रतिनिधि गाईबस्तुका खरिदे हुन्थे ।
मान्छे मरेपछि कहाँ जान्छ रु स्वर्ग र नर्क हुन्छ कि हुँदैन रु यी सबै तर्क र बहसका विषय हुन् । तर न्याय र विवेकको आँखा विशुद्ध भइदिने हो भने मानिसका लागि स्वर्ग र नर्क यही धर्तीमा छ ।
नेताहरूलाई आवासदेखि दिनैपिच्छे स्वादिष्ट रसपान र भीआईपी गाडी उपलब्ध गराउने दुर्गा प्रसाईं, मथुरा मास्के, सीताराम अधिकारीहरूलाई पनि लाग्थ्यो होला– ‘नेता चलाउने भएपछि मलाई कसले छुने रु’ तर चराले सधैँ कमिला सिध्याउँदैन । चरा मरेपछि त्यसलाई सिध्याउने त उही कमिला नै हो । स्वर्ग नर्क छुट्याउने सत्ययुगमा सत्यको पर्याय मानिने युधिष्ठिरले त आफ्नो स्वधर्म बचाउन नसकेको अवस्थामा राजनीतिको खोल ओढेका डेढअक्कली ब्वाँसाहरूबाट त्यो अपेक्षा गर्नुजस्तो नालायकी अरू केही हुन सक्दैन ।
जो खुसी रहन चाहन्छ, उसलाई कसैले पनि दुःखी बनाउन सक्दैन । जो दुःखी रहन चाहन्छ, उ सुखमा पनि दुःख खोजिरहन्छ । गुण एकान्तमा विकास हुन्छ भने चरित्र निर्माण संसारको कोलाहलमा हुन्छ । समाजमा देश जल्यो भनेर कुर्लिनेहरूको जमात बढ्यो । आफू आगो निभाउनु त कता हो कता बाल्टिनमा पानी लिएर जानेको बाटो छेक्ने र पेट्रोल खन्याउनेहरूको धुइरो लाग्दै गयो ।
सिंहदरबार पस्दा जनयुद्धको राप अँगाल्नेहरू निस्कँदा धनयुद्धका डन भएर निस्किए । खाए मकै, नखाए भोकैको धरातलबाट आएका दौरासुरुवाल धारीहरू पिजा र बर्गरमा सोखी देखिए । भातको ठाउँ भुजाले लियो । खाजा र भात खाने समय बदलिएर लन्च र डिनरमा प्रवेश गर्यो । पहिला दौरासुरुवाल प्रतिष्ठाका लागि लगाइन्थ्यो । अहिले अभिनयका लागि राष्ट्रिय पोसाक लगाइन्छ । तिनै दौरासुरुवाल लगाउनेहरूले कुठाउँमा हस्ताक्षर खेर फाल्दा मुलुक न गरी खाने, न मरी जाने अवस्थामा पुगेको हो । सन्तानलाई डाक्टर, इन्जिनियर बनाउने लोभमा आफ्नो पदीय मर्यादा खरानी बनाउन तम्सिने बर्दीधारीहरूको सङ्ख्या गन्ने हो भने क्याल्कुलेटरको डिजिटले पनि भ्याउँदैन ।
पदीय मर्यादाभन्दा एजेन्ट हुनुको गौरवमा उनीहरू गर्व गर्छन् । देश बनाउने एजेण्डा लिएर एउटा चरो, मुसो सिंहदरबार पस्दैन । यस्तो भिजन भएकालाई सिंहदरबारले चिन्दैन । चिल्लो गाडी, दामी सुट, शीतलु चश्मा, औँलाभरि चटकेले जस्तो औँठी र मगमगाउने सेन्ट छर्किएर सिंहदरबार नै हरर बनाएर जानेहरू रेड कार्पेटका हकदार हुने गरेका छन् । शासन संयन्त्र यिनीहरूका अगाडि लम्पसार पर्छ ।
एनआरएनए, उद्योगी, लगानीकर्ता र निजीक्षेत्रको खोल ओढेर आउने यस्ता नटवरलालहरू सिंहदरबारमा यत्र, तत्र, सर्वत्र छरिएका छन् । अझ अचम्म त के छ भने चिताउँदै नचिताएको सभ्य मानिस यस्ता मानिसको गाइड भएर हिँडेको हुन्छ । यस्ता नटवरलालहरूको पृष्ठभूमि खोतल्ने हो भने उसले लगाएको टाईमा समेत बैंकको ऋण झुण्डिएको हुन्छ । जनताको कल्याण गर्न ल्याएको लोकतान्त्रिक गणतन्त्रले चौधरी, गोल्छा, खेतानहरूलाई राजनीतिको चुलोचौकोसम्म पुर्यायो। खुला र उदार अर्थतन्त्रका नाममा छोडिएको अनियन्त्रित साँढेले एउटै मानिसलाई हिङदेखि हर्दीसम्मको मालिक बनायो । मदिरा उत्पादक, बैंकर्स, चाउचाउदेखि सभासद्सम्मको खास्टो एउटैलाई ओढाइयो । जसले नीतिगत भ्रष्टाचारलाई थप मलजल पुर्याये ।
नेताहरूले आफ्ना सन्ततिलाई युरोप, अमेरिका पठाए । आइफोन र फेसबुक संस्कृतिमा हुर्काए । गाडी लिएर वर्षौंदेखि आफूले भोट पाएको ठाउँमा पुगे । तर जनताको छोरालाई त्यही वातावरण दिनुपर्छ भन्ने हेक्का राखेनन् । ठूलाबडा चढेको गाडीको धुलो खानु मतदाताको नित्यकर्म बन्यो । मतदातालाई गाडी चढ्ने हैसियत बनाउने मार्गचित्र कसैले कोरेनन् । चुनाव जितेका कुनै जनप्रतिनिधिले भोट दिने र पाउनेका सन्तान एउटै स्कुलमा पढ्न पाउने अवसर दिलाउँछु भनेर उद्घोष गर्न सकेनन् । शिक्षा र स्वास्थ्य अधिकारको रूपमा स्थापित हुन सक्दैन भने बाँकी वाद र आदर्श दिन कटनी, मानो पचनी मात्र हो ।
खबरहबबाट साभार