कथा – नेपाली चलचित्र

नेपाली चलचित्रको इतिहास त्यति पुरानो छैन । डिबी परियारको ‘सत्य हरिशचन्द्र’ नेपाली भाषामा छायाङ्कन भएको पहिलो चलचित्र हो जुन कोलकातामा छायाङ्कन भएको थियो ।

तर नेपाली सिनेमा को इतिहास हेर्ने हो भने नेपाल को पहिलो चलचित्र भनेर ‘आमा’ लाई लिइन्छ जुन २०२१ असोज २२ मा प्रदर्शनमा आएको थियो।

यस चलचित्रलाई तत्कालीन श्री ५ को सरकार सूचना विभागले निर्माण गरेको थियो।

चलचित्र हिरा सिंह खत्रीले निर्देशन गरेका थिए भने शिव शंकर मानन्धर र भुवन चन्दको मुख्य अभिनय रहेको थियो ।

ततपस्चात निजी क्षेत्रबाट नेपालमा पहिलो चलचित्र निर्माण भयो ‘माईतिघर’। सुमोनान्जली फिल्म्स प्रा।लिले यो चलचित्र २०२२ साल मा प्रदर्शनमा ल्याएको थियो ।

यस चलचित्रमा माला सिन्हा र चिडम्बर प्रसाद (सि.पि.) लोहनी को मुख्य अभिनय रहेको थियो र यो जोडीले पछि आएर विवाह समेत गरे।

‘माईतिघर’मा भारतीय कलाकार सुनिल दत्त, राजेन्द्र नाथ लगायतको समेत अभिनय रहेको थियो।

बि.एस थापाको निर्देशन रहेको उक्त चलचित्रमा संगीत जयदेव को रहेको थीयो भने लता मंगेस्कर , आशा भोस्ले, उशा मंगेस्कर, मन्ना डे लगायत चर्चित भारतीय गायिकाहरु संगै नेपालका प्रेमधोज प्रधान, सि।पि लोहनी र अरुणा लामाले पनि आवाज दिएका थिए।

२०२७ मा आएर मात्र शाही नेपाली चलचित्र निगम को स्थापना भयो र निगमबाटै चलचित्र ‘मन को बाध’को निर्माण भयो र यो चलचित्र २०२९ मा प्रदर्शन मा आएको थियो। जय राणा निर्देशित यस चलचित्रमा नातीकाजी र शिव शंकर ले संगीत भरेका थिए।

प्रताप सुब्बाको निर्देशनमा बनेको चलचित्र ‘परालको आगो’ (ब्ल्याक एन्ड ह्वाईट) चलचित्र निकै सफल भयो। कथा र सागीतिक पक्ष निकै उत्कृष्ट रहेको उक्त चलचित्रमा टङ्क शर्मा, बसुन्धरा भुसाल, सुश्मिता ढकाल, आई.के सिंह, मेनुका प्रधान लगायतको अभिनय रहेको थियो। यसै चलचित्रबाट शान्ती ठठाल पहिलो महिला संगीतकार बनिन।

चलचित्रमा नेपालको ईतिहासमा पहिलो इष्टम्यान कलर चलचित्रका रुपमा २०३४ सालमा चलचित्र ‘कुमारी’ निर्माण भयो।

२०३६ सालमा सिन्दुर, जीवन रेखा हुँदै २०४० सालमा बदलिदो आकाश सम्म आईपुग्दा नेपाली चलचित्र निर्माणमा निजी क्षेत्रको सक्रियता बढिसकेको थियो ।

अहिलेको अवस्थामा धेरै परिवर्तन भइसकेको छ नेपाली चलचित्रमा । तर विदेशी फिल्मसँग प्रतिस्पर्धामा उत्रन धेरै मिहिनेतको आवश्यकता छ ।